पाँचखाल – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताउनुभएको छ ।

पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।” मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताउनुभयो । मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राख्नुभयो ।

“संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उहाँले भन्नुभयो । उहाँले निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिनुभयो । कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाप्रमुख महेश खरेललगायतले परियोजना सफलताको कामना गर्नुभएको थियो ।

सो अवसरमा खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नपा र खानेपानी उपभोक्ता समितिबीच परियोजना सम्पन्न गर्न चौ–पक्षीय सम्झौता भएको थियो । सो आयोजना एसियाली विकास बैंक (एडिबी)को रु दुई अर्ब १० करोड ऋण तथा खानेपानी उपभोक्ताको रु ११ करोडको लागतमा आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


तपाईको प्रतिक्रिया