आज सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाको जन्मदिन । जन्मदिनका अवसरमा मन्त्री बाँस्कोटाले मिडियाव्यवसायी, विज्ञापन व्यवसायी, सेलेब्रिटी र गृहजिल्लाका जनतालाई भव्य ‘ट्रिट’ दिएका छन् ।

होटल अथवा पार्टी प्यालेसमा भोज आयोजना गरेर नभई केही महत्वपूर्ण नीतिगत काम गरेर उनले ‘ट्रिट’ दिएका हुन् ।

संयोग कस्तो पर्यो भने सञ्चारमन्त्रीको जन्मदिनमै बहुचर्चित मिडिया विधेयक राष्ट्रिय सभामा दफावार छलफल हुने गरी अघि बढ्यो । ऐन जारी हुने प्रचलित प्रक्रिया अवरुद्ध होस् भनि चाहने तत्वले मिडिया विधेयक फिर्ता दिन दबाब दिँदै आएका थिए । दफावार छलफलमा विधेयक अघि बढेपछि ऐन बनाउने जिम्मा कार्यपालिकाको हो भन्ने मान्यता अझ मजबुत भएको छ । यसबाट विधिको शासनप्रति सहमति जनाउनेहरूको जित भएको छ ।

सञ्चारमन्त्रीको जन्मदिनमै विज्ञापनसम्बन्धी बहुचर्चित विधेयक प्रतिनिधिसभाले पारित गर्यो । विधेयक पारिद भएसँगै क्लिन फिडको व्यवस्था नेपालमा पहिलोपटक लागू भएको छ । यसबाट नेपालको विज्ञापन बजार ६ अर्ब रूपैयाँभन्दा बढीले विस्तार हुनेछ ।

यसबाट मिडिया र विज्ञापन व्यवसायी मात्र होइन, विज्ञापनमा अभिनय गर्ने सेलेब्रिटी पनि लाभान्वित हुनेछन् । यसलाई मिडिया र विज्ञापन व्यवसायी तथा सेलेब्रिटीलाई सञ्चारमन्त्री बाँस्कोटाले ‘सरप्राइज बर्थ-डे ट्रिट’ दिएको अर्थमा लिन सकिन्छ ।

सञ्चारमन्त्रीको जन्मदिनमा उनको गृहजिल्ला काभ्रेमा विकास निर्माणको महत्वकांक्षी योजना अघि बढ्यो । दुई अर्ब २२ करोड रूपैयाँको सुनकोशी–पाँचखाल खानेपानी आयोजना सम्बन्धी सम्झौतापत्रमा आजै हस्ताक्षर भयो । मन्त्री बाँस्कोटाको उपस्थितीमा सहरी विकास परियोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी आयोजनाको उपभोक्ता समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।


तपाईको प्रतिक्रिया