काभ्रेपलाञ्चोक (भकुन्डे) – एक बर्षअघि मापदण्ड नमोबुद्ध नगरपालिकासँग सम्झौता गरेका व्यवसायीहरुले आवश्यक मापदण्ड पुरा नगरेपछि नमोबुद्ध नगरपालिकाले ईट्टा उद्योगमा डोजर लगाएको छ ।

इट्टा व्यवसायीहरुले सडकमा एस्काभेटर राखेर अवरोध सृजना गरेपनि वैकल्पिक सडक निर्माण गरेर भएपनि नगरपालिकाले इट्टा उद्योगमा राखिएका चिम्नी डोजर र क्रेन लगाएर भत्काएको हो । नमोबुद्ध नगपालिकाभित्र रहेका ८ ओटा ईट्टा उद्योग संचालनमा रहेकाले क्रमिक रुपमा आईतवार साँझसम्ममा सबै उद्योगको चिम्नी भत्काउने नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

उनले पूर्व निर्धारित सम्झौता अनुसारनै चिम्नी भत्काएको बताए ।‘नगरपालिकाले पटक–पटक अल्टिमेटम दिदा समेत व्यवसायीले इट्टा उद्योग हटाउन चासो नदिएपछि प्रहरी प्रशासनको सहयोगमा इट्टा भट्टा हटाउने कार्य सुरु गरेका हौ’ प्रमुख शर्माले भने । अघिल्लो बर्षको असारमा जिल्ला समन्वय समितिको हलमा काभ्रेको नमोबुद्ध नगरपालिका र सोही नगरपालिकाको भकुण्डेमा संचालन भैरहेका आठ ओटा ईट्टा उद्योगबिचको सम्झौता भएको थियो ।

नमोबुद्ध नगर कार्यपालिकाको बैठकबाट २६ महिनौ पहिलेनै भकुण्डे बजारमा संचालित इट्टा भट्टा हटाउने निर्णय भएपनि व्यवसायीले जबरजस्ती भट्टा संचालन गर्दै आएको आरोप नगरपालिकाले लगाउँदै आएको थियो । एक बर्षअघि नगरपालिकाले व्यवसायीहरुसँग सम्झौता गरेसँगै राजस्व समेत उठाएको थिएन । सत्यनारायण ईट्टा उद्योगका संचालक लक्ष्मण मर्हजनले नगरपालिकाले सम्झौता विपरित आफूहरुलाई सामान हटाउने समय समेत नदिएर एकलौटी रुपमा प्रशासन लगाएर वल प्रयोग गर्नु दुखत रहेको बताए ।

‘ हामीले हटाउँछौ भनेर भन्दा समेत नगरले समय दिएन’ महर्जनले भने,‘ हामीलाई सात दिनको मात्रै म्याद दिएको भए हामी आफैं चिम्नी भत्काउँछौ ।’ उनले नमोबुद्धका मेयरले व्यवसायीहरुसँग कुरानै गर्न नचाहेको बताएका छन् । उनले नमोबुद्ध नगरपालिकाले नाकाबन्दी गरेर बाँध्य गराएर सम्झौता गरेको बताए । ‘भारतले नेपाललाई नाकाबन्दी गरेको जसरी कोइलामा ल्याउन नाकाबन्दी गराएर बाँध्य पारेर सम्झौतामा हस्ताक्षर गरेको मर्हजनले बताए । यस बारे काभ्रेमा इट्टा व्यवसायी संघ भएपनि उसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

उद्योगीहरुले दर्ता प्रक्रिया देखि नै त्रुटी गर्दै अघि बढेका इट्टा उद्योगहरुले आफूले पालना गर्नु पर्ने नियम कानून र पुरा गर्नु पर्ने मापदण्ड नै पुरा नगरी व्यवसाय संचालन गरेका कारण विस्थापित भएको स्थानीय किसानहरुले समेत बताएका छन् । जग्गा भाडामा लिने समयमा सडकको स्तरोन्नती, पानीको व्यवस्था, मन्दिर र चौतारो बनाउने भनेपनि कुनै पनि काममा सहयोग नगरेको किसानको आरोप छ । अब नगरले उद्योग विस्थापन गरेपछि आफूहरुले भाडा वापत पाएको रकम समेत आम्दानी हुनेमा किसान शंका व्यक्त गर्दछन् । ‘सिंचाइको अभाव भएको ठाँउमा कसरी आम्दानी गर्न सकिएला’ शिव खनालले भने ।

भकुण्डेमा मात्रै भैरवकुण्ड ईट्टा उद्योग, विन्धवासिनी ईट्टा उद्योग, शिवशक्ति ईट्टा उद्योग, पंञ्चकन्या ईट्टा उद्योग, फुलबारी ईट्टा उद्योग, जयशिवशक्ति ईट्टा उद्योग, सत्यनारायण ईट्टा उद्योग, शंकर ईट्टा उद्योग संचालित छन् । ईट्टा उद्योग हटाउने क्रममा अवरोध सृजना गरेको भन्दै प्रहरीले राम सुवाल, किशोर दाहाल र राजन भैनालोलाई नियन्त्रणमा लिएको थियो । काभ्रेमा संचालित भैरहेको उद्योगलाई स्थानीय सरकारकै पहलमा भत्काएको यो पहिलो घटना हो । नमोबुद्धमा ईट्टा उद्योग हटाउने निर्णयसँगै पाँचखाल र मण्डनदेउपुरमा संचालन भैरहेका उद्योगलाई हटाउन आवश्यक रहेको स्थानीयले माग समेत गरेका छन् ।


तपाईको प्रतिक्रिया