काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनकुने–गौशाला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गर्ने बताएका छन् । मन्त्री भट्टराईले आफ्नो कार्ययोजनामा तीनकुने–गौशाला सडकमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् ।

कार्ययोजना सुनाउँदै मन्त्री भट्टराईले डक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उनले भने । भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि उल्लेख गरेका छन् । जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने पनि भट्टराईले बताए । यस्तै पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने उनको योजना छ ।

यसैगरी मन्त्री भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । कार्यक्रममा उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।


तपाईको प्रतिक्रिया