चितवन – टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो ।

पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो ।

लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए ।

तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट  पक्राउ गरेको थियो । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।

चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।


तपाईको प्रतिक्रिया