कुन्ता – एक बर्षअघिसम्म काभ्रेको मण्डनदेउपुर नगरपालिकाको हिगुवापाटीदेखि पाँचखाल नगरपालिकाको जिरोकिलोसम्मको ८ किलोमिटर सडक छिचोल्न टिपरलाई झण्डै एक घन्टा लाग्थ्यो । तर अहिले सोही सडक मालवालक टिपरले १२ मिनेटमा पार गर्छन् भने खाली फर्कदा ७ मिनेटमा पुरा गर्छन् ।

टिपरको अत्याधिक गतीकै कारण सडकमा साना सवारी साधनलाई ज्यान जोगाउनै मुस्किल पर्न थालेको छ । हेलम्बु राजमार्ग अन्तरगत जिरोकिलोदेखि हिगुवापाटीसम्मको सडक कालोपत्रे भएसँगै वितेको तीन महिनामा टिपरकै कारण तीन जनाले ज्यान गुमाइसकेपनि सरोकारवाला निकायले चासो दिन सकेका छैनन् । कालोपत्रे भएसँगै २० टन बोकेर ७० किलोमिटरप्रति घन्टासम्म टिपर दौडाउने गरेको पाइएपनि प्रहरी, स्थानीय सरकारले टिपरलाई टाइम कार्ड लगाउने बिषयमा सोचेकै छैन । ‘ लोड बोकेर ७० दौडाउने टिपर खाली फर्कने समयमा प्रति घन्टा एक सय किलोमिटरप्रति घन्टाको दरले दौडाउने गरेका छन्’ स्थानीय सुरेश थापाले भने,‘ छोराछोरी सडकमा पुग्दा त्राही त्राहीमात्रै हुन्छ ।’ मण्डनदेउपुर नगरपालिकाले ओभर स्पिडमा दौडाएको पाएमा कारवाही गर्ने सूचना जारी गरेपनि प्रभावकारी रुपमा अनुगमन गर्न सकेको देखिदैन ।

अधिकार पाएको स्थानीय सरकारले ओभर स्पिडसँगै ओभरलोड र पानी चुहाउँदै हिड्ने टिपर रोक्न नसकेको भन्दै स्थानीयले आक्रोश पोख्न थालेका छन् । ‘ हामीले सूचना जारी गरेका छौ, दुर्घटना घटाउने र राजमार्ग जोगाउने हाम्रो अभियान जारी छ’ उपप्रमुख निर्मला शाहीले भनिन् । सुरक्षित सडक बनाउने योजनामा हामी सकृय छौ उनले भनिन् । हेलम्बु सडकमा मात्रै हैन काभ्रेको अरनिको राजमार्ग, विपी राजमार्ग, हेलम्बु राजमार्गसँगै पनौती सडकमा टिपरको अत्याधिक गतीमा दौडने गरेका छन् । लोड टिपरलाई मात्रै प्रहरीले टाइम कार्ड लगाउने गरेपनि जनशक्तिको अभावमा त्यो प्रभावकारी बन्न सकेको देखिदैन । काभ्रेको पाँचखाल, दोलालघाट, बनेपामा टाइम कार्ड लगाएपनि त्यो प्रभावकारी बन्न सकेको छैन । काभ्रेमा खाली टिपरवाटै अत्याधिक जोखिम देखिएको छ । साना सवारी चालकहरु त्रासमै सवारी साधन चलाउन बाँध्य छन् ।

धुलिखेलका स्थानीय अमरकृष्ण चन्दले टिपर सुमो र हायसको मारमा मोटरसाईकल चालक परेको बताए । ‘ उनीहरुले सडकनै आफ्नो सोचेर गाडी दौडाउने गरेका छन्’ चन्दने भने । बागमती टिपर व्यवसायी संघका अध्यक्ष प्रेम लामाले टिपरहरुवाट हुने जोखिम कम गर्ने उपायहरु प्रहरी प्रशासनले लगाएमा त्यसमा सहयोग गर्न आफूहरु तयार रहेको बताए । हामीले चालकहरुलाई दुर्घटना कम कसरी गराउन सकिन्छ भनेर समय समयमा अनुशिक्षण कक्षा संचालन गरिरहेका छौ लामाले बताए जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक दामोदर सिलवालले जनशक्तिको अभाव रहेपनि आफूहरुले ओभर स्पिड, पानी चुहाउने र ओभर लोड बिरुद्ध निक्कै आक्रमक रुपमा काम गरिरहेको बताए । उनले स्पिड कम गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर टाइम कार्ड लगाउने बिषयमा छलफल गरिरहेको बताए ।


तपाईको प्रतिक्रिया