पाँचथर – पाँचथर र तेह्रथुमका ३३ जनामा डेंगुको संक्रमण देखिएको छ । साउन दोस्रो साता पाँच जनामा देखिएको डेंगु अहिले ३३ जनामा फैलिएको हो ।

फिदिम–१, का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी, श्रीष्मा आङ्देम्बे, सोफिया थापा, एलिसा रम्पालमा डेंगु देखिएको छ । ११ वडाका कमल न्यौंपाने, १२ वडाका रामकुमार राई, १३ वाडका दिलकुमारी राईमा देखिएको छ । त्यसैगरी फालेलुङ गाउँपालिका २ का लोकीमाया बानियाँ, लियन थोक्लिहाङ, देउमाया खत्री र हिलिहाङ गापा ३ का निशान शिगुमा डेंगु जिवाणु देखिएको छ ।

उपचार गर्न आएका तेह्रथुम आठराई गाउँपालिका-५, का मन्दिरा राई र जीवन इसिबोमा पनि संक्रमण देखिएको छ । पाँचथरमा कार्यरत मोरङका पुरुषोत्तम पौडेल र काठमाडौंका पुरुषोत्तम आचार्य लगायत ३३ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

एडिस एजिप्टाई जातका पोथी लाम्खुट्टेले टोक्दा डेंगु रोग लाग्ने चिकित्सको भनाइ छ । तराई बसेर फर्किनेमा संक्रमण हुन सक्ने अनुमान विपरीत पहाडमै रहनेमा पनि देखिन थालेको चिकित्कसले बताएका छन् । पहाडमै पनि एडिस एजिप्टाई फैलिएकी भन्ने आशंका बढेपछि यसको अनुसन्धानको प्रयास भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो ।

एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कटकटी दुख्नु डेंगुका लक्षण हुन् ।


तपाईको प्रतिक्रिया