काभ्रेपलाञ्चोक – सेतीदेवी मावि रिठ्ठे सापिङको कक्षा कोठामा आमाहरुसँगै छोराछोरी पढिरहेका थिए । च्याउ खेतीको अथाह संम्भावना भएको सापिङमै केही बर्षदेखि स्थानीय सेतीदेवी माविले बाली बिज्ञान अध्यापन गराउने गरेकोमा च्याउ खेतीमा औधी रहरिएका आमाहरुलाई छोराछोरीसँगै विद्यालयले अध्यापन गराइरहेको थियो । आमाहरु पढाउने जिम्मेवारी गाँउपालिकाको सहयोगमा कृषि शाखाले गरेको थियो ।

अझै रोचक बिषय सापिङको रिठ्ठेमा यसभन्दा अघि च्याउखेती भएकै थिएन । भुम्लु गाँउपालिका–१ सापिङ रिठ्ठेका स्थानीय च्याउ बनेपामा बजारवाट लिएर गएर खान्थे । उनीहरुलाई गाँउमै च्याउखेती हुने कल्पना समेत गरेका थिएनन् । भुम्लु गाँउपालिकाले सेतीदेवी माध्यामिक विद्यालयलमा बालीबिज्ञान अध्यापन सुरु गरेसँगै विद्यार्थीहरु कृषी खेतीमा नयाँ कुरा सिक्न थालेका छन् । विद्यार्थीसँगै आमाहरु समेत प्राविधिक शिक्षा लिन तम्सिएका हुन् । गाँउपालिकाले गाँउमै कृषीमा आधुनिकीकरण भित्राउँदै आफ्नो गाँउमा आवश्यक रहेको कृषी तथा खाद्यवस्तु आफै उत्पादन गर्ने अभियान स्वरुप बालिबिज्ञानको कक्षा संचालन गरेको गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताए । उनले सापिङमा आमाहरुलाई समेत बालिबिज्ञानको कक्षामा समावेश गरेर यसको महत्व बढाउने प्रयास सुरु गरेको बताए । ‘ हामीले सापिङमा च्याउ खेतीको तालिममा आमाहरुलाई सहभागी गरेका हौ’ गाँउपालिका अध्यक्ष कुँवरले बताए ।

गाँउपालिकाले हरेक माध्यामिक विद्यालयमा अभियानकै रुपमा प्राविधिक शिक्षा अध्ययन गराउने प्रयास गरिरहेको कुँवरले स्पष्ट पारे । गाँउमा प्राविधिक शिक्षाको सुरुवात गर्ने उदेश्यले २०७४ सालवाट सेतीदेवी माविले बाली बिज्ञानको कक्षा संचालन गरेको पहिलो बर्षमै कोटा अनुसार ४० जना विद्यार्थी सहभागी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल पराजुलीले बताए ।
सापिङको राधिका पराजुलीले च्याउ खेती तालिम लिएसँगै अब त्यसलाई पेशाको रुपमा अघि बढाउने योजना लिएको बताईन् । उनले भनिन्‘ छोराछोरीले बारीमा पुगेर के के गराउँदा पैसा खेर गयो जस्तो लागेको थियो’ उनले भनिन्, प्राविधिक शिक्षा आखिरमा निक्कै उपयोगी पो रहेछ ।

उनीजस्तै रेणुका पराजुली र उमा श्रेष्ठमा अब केही गरौ भन्ने हौसला मिलेको छ । गाँउपालिकाले बजारीकरणमा सहयोग गरेमा च्याउ खेतीलाई व्यावसायिक रुपमा संचालन गर्ने योजना उनीहरुको रहेको छ । भुम्लु गाँउपालिका वडा नं १ का अध्यक्ष खिरबहादुर श्रेष्ठले आफ्नो वडामा कृषि उत्पादनमा जोड दिदै बजार व्यवस्थापनमा आफूले सहकार्य गर्ने बताए । कृषि शाखाका ज्ञानेन्द्र दाहालले किसानलाई व्यावसायिक बनाउन तालिमहरु निरन्तर संचालन गरेको सुनाए ।


तपाईको प्रतिक्रिया