कथा : गहुँका गेडा

~महेन्द्र पौडेल~Mahendra Paudel-1

“बाबु, सत्र नम्बर कता हो ?” ब्रसेल्स विमानस्थलमा एक बूढी आमाको स्वरले म झस्किएँ ।

“म नेपाली हुँ भनेर कसरी चिन्नु भो तपाईंले ?” मेरो असहज प्रश्नले उनी मुसुक्क हाँसिन् र भनिन्,
“अघि तिम्ले फोनाँ कुरा गरेथ्यौ केरे नेपालीमा ।”

मैले उनको टिकट मागेँ । ब्रसेल्स–अबुधावी, अबुधावी–काठमाडौँ रहेछ । फ्लाइट अझै चार घन्टा पर्खनुपर्ने । स्क्रिनमा आउने कुरै थिएन ।

मेरो दुई घन्टापछिको फ्लाइट थियो– ब्रसेल्स–लिस्वन । अब यी बूढीआमासँग गफिन पाएँ भने गाउँमै कसैसँग गफिएजस्तो लाग्ला भन्ने भान भयो मलाई ।

“कफी, चिया के पिउनुहुन्छ आमै ?” मैले सोधेँ ।

“के पिउनु छ र बाबु चाय ? डेढ महिना हुन लाग्यो पिउन नपाएको । मलाई त नेपालमा बनाएजस्तो दूधचिया, धूलो पत्ती र अदुवा थिचेर मज्जाले पकाएर छान्नीले छानी पिउन मन छ बा ।”

“त्यस्तो त कहाँ पाउनुहुन्छ र आमै यहाँ ? तर, दूधचियाचाहिँ हुन्छ ।”

“ल भनन्त भन ।”

चिया पिउँदै बूढीआमालाई सोधेँ, “किन तपार्इं चाँडै आउनुभएको ? एयरपोर्ट कसले छोडिदियो तपाईंलाई ?”

“छोरोले,” उनले भनिन् ।

“किन जहाज नै नचढाई फर्किएछ त ?” मेरो प्रश्नको असहज मान्दै उनले उत्तर फर्काइन्, “स्वास्नीले फोन गरी । ऊ ती राता पुलिस भएका मानिसलाई टिकट देखाएपछि तपार्इंलाई डोर्‍याएर प्लेनको ढोकासम्म लैजान्छ भनेर गयो ।”

“तपाईंको घर ?”

“कुश्मा हो बाबु । देवालय गाविसमा पर्छ बा ।”

“घरमा को को हुनुहुन्छ ?”

“एउटै छोरो हो ।” बूढीका आँखाबाट आँसु रसाए ।

“छोराले सँगै यतै बस्ने हो भनेको थियो । भएको घरबारी, दु:ख गरेर पालेको लैनो भैँसी माथ्लाघरेलाई बिनासित्तैँमा बेचिदिएँ । बाख्राका पाठापाठी मेरा साथी थिए बूढा बितेपछि । तिनीहरूको स्याहारसुसारमा दिन बितिरहेको थियो जसोतसो । छोराले भिसा लाग्यो आमा आउनूस् भनेर लिन आयो । केही दिन बसेर सबै गोठघर रित्ताएर चाबी लगाइवरी बेल्जियम आएको बा ।

बुढेसकालको सहारा यही एउटा छोरो हो । एउटै छोरालाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भनेर बूढाले अर्को सन्तान बनाउन मानेनन् । उसलाई कुनै कुराको कमी नगरी हामीले एक छाक खाएर, एकसरो लगाएर सकिनसकी पोखरामा पढाउँदै आएको थियौँ ।

एक दिन छोराले भन्यो, ‘अब तपाईंहरूले पैसा पठाउनु पर्दैन ।’

बूढीमाउ छोराले यस्तो भन्यो भनेर अँगालो हालेर रोए बूढा त्यस दिन, ‘अब छोरो ठूलो भएछ देखिस्, हाम्रा दु:खका दिन गए ।’ छोरो बुझ्ने भएछ भन्दा म पनि बूढाकै काखमा रोएको हिजो जस्तै लाग्छ बाबु !
‘तिम्रो छोराले गोराहरूलाई हिमालतिर लैजान्छ बज्यै भन्थे गाउँतिर । हामीलाई पनि राम्रो काम सुरु गरेको छु भन्थ्यो छोराले । दुई–तीन महिनामा गह्रुँगो र गह्रुँगो झोला बोकेर घरमा आउँथ्यो । बाबु यति दु:ख गरेर किन भारी बोक्छस् भन्दा ‘तपाईंहरूका लागि हो नि भन्थ्यो ।’

हाम्रो मन फुरुंग हुन्थ्यो । जब जान्थ्यो छोरो, बूढाले मनेर कानमा आएर फुसफुसाउँथे, ‘देखिस् बूढीमाउ धेरै छोरा हुनु र एउटै छोरा हुनुमा केही फरक छैन । हाम्लाई यसले पैसा नकमाए पनि भएको समालेर राखिदिए र यसरी नै माया गरे भैगो नि बुढेसकालमा ।’

यसरी हुर्काएको छोरो एक दिन हुर्रिएर घरमा आयो र भन्यो, ‘पासपोर्ट बनाएर विदेश जान्छु ।’ एउटा छोराको चाहना नजाऊ कसरी भन्न सक्थेम् र ? पासपोर्ट बनाइवरी ऊ विदेश हिँड्यो । ऊ विदेश हिँडेको तीन वर्षसम्म पैसा पठाइरहन्थ्यो । एक दिन मेरो जिन्दगीमा दैवले गर्नु गर्‍यो । बूढा पोखरा गएका थिए । आउँदा पातीचौर डिमुवानेर गाडी दुर्घटना भयो । १९ जना मानिसको दुर्घटनामा परी ज्यान गयो । मेरा बूढा पनि परे । छोरो आयो बुबाको काजकिरिया सकीवरी हिँड्ने तरखरमा थियो ।

मैले भनेँ, किन यति चाँडै जान्छस् मलाई एक्लै छाडेर ? १५ दिन पनि नबसी ? उसले भन्यो, ‘आमा, म तपार्इंलाई भिसा पठाउँछु, अब तपाईं यहाँ बस्ने होइन । अब मसँग युरोपको बेल्जियममा बस्ने हो ।”
होला त नि छोरोले भनेको कुरो भन्दै पर्खिएँ । पलपल कहिले भिसा आउला र छोरो भएको ठाउँमा जाउँला भन्दाभन्दै ठ्याक्कै २८ महिनामा भिसा आयो भनेर छोरो लिन आयो ।

सम्झेँ, अब मेरा दु:खका दिन गए । गाई, भैँसी, गोठ सबै रित्ताएर झोला कस्न थाल्यो छारोले । मझेरीनेर बूढा र मेरो फोटो थियो कुनै बेला पोखरा जाँदा खिचेको । एकपटक त्यो फोटोलाई हेरेँ । फोटो निकालेर छातीमा केहीबेर राखेँ । बेस्मारी बूढाको याद आयो, डाँको छोडेर रुन मन लाग्यो । रोएँ केही बेर । त्यो फोटोलाई जतनसाथ ठूलो ब्यागमा राखेर चेन लगाएँ । यसरी बेल्जियम आएको बाबु ।
उनले त्यति भन्दाभन्दै गर्दा मेरा आँखा रसाइसकेका थिए । उनले आफ्नो पस्मिना सलको टुप्पोले आफ्ना आँखा पुछ्दै सेलाइसकेको चिया सुरुप्प पारिन् र भनिन्, “छोरो सुपुत्र हुनुपर्ने कुपुत्र भएपछि कसको के लाउँदो रहेछ र ?”

मैले भनेँ, “कसरी आमै ?”

“भनिसाध्य छैन बा कुरो,” उनले यति भनेर खुइय लामो सास तानिन् ।

“म पनि त छोरोजस्तै हुँ केरे । भन्नूस् न म पछि कुश्मा भेट्न आउँला नि †” मैले उनलाई आश्वस्त पार्न चाहेँ ।

“खोइ नुमुर हो कि नामुर भन्ने ठाउँ भन्थ्यो । एक छाक गतिलो भात खान पनि पाइनँ । त्यो पाउरोटी चपाउँदा चपाउँदा दिक्क भएँ । पाउरोटीमा घिउ हालेर खानुपर्ने, पछिपछि त पाउरोटीलाई तातो दूधमा भिजाएर खान थालेँ । यत्रायत्रा चोक्टा भएको मासु छि:छि…. । मैले घिन मानेर खाइनँ । उसले त्यहीँ कि गोरी केटीसँग विवाह गरेको रहेछ । हाम्लाई भन्दा पनि भनेन । बेल्जियम आउनेबित्तिकै विवाह गरेको रे ! पोखराबाट मुक्तिनाथ ट्रेकिङ जाँदा चिनजान भएर विवाह गरेको रे † त्यै गोरेनीले पैसा हालेर बेल्जियम ल्याएकी रे !

एक दिन वचन लगाएर भन्यो, “तिम्रो घरको बाख्रापाठा, भैँसी बेचेर युरोप आउन सक्ने भए त सबै आउँथे ।” मलाई भाउन्न भो । बूढा मरे पनि हातखुट्टा दरै छन् मेरा गरेर खान सक्छम् केरे भन्न मन लाथ्यो ।

उनीहरू त भात खाँदा पनि सँगै जोडिएर छि:छि भन्नै नहुने मुख जोड्नुपर्ने । कति लाज नभाको । पात्तिएका । छाडा भएका । आमाको लाज त मान्नुपर्छ केरे । जब खाने समय हुन्थ्यो, त्यही हातले बिरालो मुसार्थे । दुवै जना त्यही हातले रोटी दिन्थे । त्यो बिरालाको रौँ, घिन पनि नलाग्ने । मलाई गाह्रो हुन्थ्यो । कसरी उम्कूँला जस्तो हुन्थ्यो बाबु ।”

आमा धाराप्रवाह यसरी भन्दै गइन् । घरिघरि उनको अनुहार वितृष्णाले बेचैन जस्तो देखिन्थ्यो भने घरी फुरुंग हुन्थ्यो । तेत्रो दिन बस्दा पनि कोही नेपाली भेटिएनन् र छोरोले पनि भेटाएन । नेपाली देख्न अत्यार लाग्यो । धन्न बाबुलाई हिँड्ने बेलामा एयरपोर्टमा भेटेँ ।

“मलाई पनि खुसी लाग्यो आमा, तपाईंलाई भेट्न पाएकामा ।”

“एक दिन छोराले गाली गर्दै भन्यो, तिम्लाई त्यही पाखो प्यारो छ, त्यही माटेघर । त्यही लगेर छोडिदिन्छु । एक मनले सोचेँ, ठीकै भनिस् बाबै । यो नरकमा बस्नुभन्दा त मलाई मेरै कुस्मा ठीक । एकादशीमा नुहाउन गंगाजीको तीरमा जान पाउँथेँ । बूढाको नाउँमा पानी चढाउन पाउँथेँ । तुलसाको मोठमा पूजा गर्न पाउँथँे । कहिले यसले छोड्ला जस्तो भाथ्यो, आजै छोडिदियो बाबु । त्यै पाखोले हाम्ले यसलाई पढाको । त्यै माटेघरमा हाम्ले यसलाई जन्माको, हुर्काको । छोराले भुसुक्कै बिर्सेछ ।”
बूढी आमै बोल्दाबोल्दै खुसी देखिइन् ।

“अनि बुहारी कस्ती रहिछ त आमै ?”

“के कुरा गर्नु छ र त्यो च्याउँसीको ? कुरै नगर बा । कपडा भएर पनि लगाउँदिन । बोतल लिएर बस्छे बिहान उठेपछि । काखमा बिरालो । हातमा चुरोट । यो बूढीलाई ध्वार्रर आवाज आउने भ्यागुतोजस्तो लगा सबै कोठामा भन्छे ।”

“ए ए भ्याकुम क्लिनर होला नि आमै ।”

“खोइ के जात हो कुन्नि ?”

“ट्वाइलेटमा खोइ के जात हालेर घोट भन्छे । सोफा सारेर बढार र कभर खोलेर साफ गर भन्छे । उसको रुमको तन्ना साफ गर । फनफन घुम्नी के जातिमा राखेर घुमा भन्छे ।”

“वासिङ मेसिन होला आमै ।”

“खै के मेसिन हो ? पढेको भए त जान्थेँ केरे, के जानम् मैले ?”

मलाई बूढी आमाको कुरा सुन्दा टाउको दुख्न थालिसकेको थियो । मनमनै सोचेँ, ठीक गरिछन् त्यहाँ नबसेर । प्रकटमा भनेँ, “धन्न छोराले नेपाल पठाउन मानेछ ?”

“के मान्थ्यो बाबु ? त्यही च्याउँसीका कारण आउन परेको हो,” उनले भनिन् ।
“कसरी ?”

बूढी आमै एकछिन टोलाइन् र भनिन्, “च्याउँसी खुबै रोई उसको बिरालो मैले मारेँ भनेर । छोरालाई पिटी । सोफामा लडाई । घुच्याई । छोरो रोयो । त्यसले तीन दिनसम्म केही खाइन । अनि, छोरोले मलाई लिएर एयरपोर्टसम्म आएको हो ।”

“कसरी मर्‍यो त नि आमै बिरालो ?” मेरो जिज्ञासा भयो फेरि ।

“कसरी मर्नु नि बाबु † दुवै जना बाहिर गएका थिए । घरमा बिरालो र म मात्रै थिएम् । छोराले फोन गरेर बिरालोलाई केही खानेकुरा दिनू भन्यो । त्यहाँ खोइ के ठाममा छ भन्यो । मैले खोजेँ, कतै भेटिनँ । एउटा कुनाको प्लास्टिकमा गहुँका दाना भेटेँ, हरियो कलर लगाएको रहेछ । गहुँका गेडा त खान्छ कि भनेर दिएको, मुखमा चपाएजस्तो गरेथ्यो । उनीहरू आउँदा त मरिसकेछ । त्यही बिरालो मर्नाले उसले मलाई चाँडो नेपाल पठाउन परेको ।”

यसो घडी हेरेको डेढ घन्टा भइसकेको थियो आमासँग गफिएको । समय गएको थाहै भएन । गफिन त अझै मन थियो । उठेर स्क्रिनमा हेरेँ, ब्रसेल्स एयरपोर्टदेखि अबुधावीको प्लेन खुलेछ गेट नम्बर १७ मा । उनलाई बोर्डिङ पास मिलाएर गेटसम्म पुर्‍याएँ र म सरासर भोइलिङ एयरको प्रस्थानविन्दुतिर आउँदै थिएँ, प्लेनभरि ती आमाको अनुहार खेलिरह्यो । आमा गएको हेरिरहेँ र टाढाबाट बाइबाइको हात हल्लाएँ ।