बाँके – सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनीको गोदाम रित्तिएको छ । आइतबार साँझसम्म मल वितरण गरेपछि गोदाम रित्तिने भएको हो । साउन १६ गते २० बोरी मल लिएर बाँडेको सहकारीले आइतबार १२ बोरी मल पाएको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख रमेश पौडेलले माग अनुसारको मल नआउँदा वितरणमा समस्या भएको बताउनुभयो । कम्पनीले बाँकेमा मल उपलब्ध गराउने १५३ वटा सहकारी छन् ।

बाँकेमा धानको सिजनमा साउन र भदौमा  ४० हजार बोरा युरिया र एक हजार ५०० बोरा डीएपी आवश्यक पर्ने गरेकोमा साउन यता तीन हजार १८० बोरा यूरिया मात्रै प्राप्त भएको छ । नेपालभरका लागि ३० हजार मेट्रिक टन यूरिया र २५ हजार मेट्रिक टन डीएसपी आउने भएकाले भदौंमा मात्र केही मल नेपालगञ्ज पुग्ने कम्पनीले जनाएको छ ।

सोही मल भदौं पहिलो सातातिर किसानले सहकारीमार्फत प्राप्त गर्नेछन् । अबको दुई सातासम्म किसानले मल नपाउने कम्पनीले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बाँकेमा चार हजार ६०० मेट्रिक टन यूरिया, एक हजार ९७२ मेट्रिक टन डीएपी र ४९ मेट्रिक टन पोटास सहकारीलाई उपलब्ध गराएको छ ।  सरकारीले अनुदान बापतको ७० प्रतिशत मल कृषि सामाग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङमार्फत उपलब्ध गराउँदै आएको छ ।


तपाईको प्रतिक्रिया