बनेपा – धनेश्वरी श्रावणी मेलाको पावन अवसर पारेर धनेश्वर महादेव प्राविको विकासका लागि स्वर्ण श्रीमद्भागवत भक्ती सत्संग महायज्ञ हुने भएको छ ।

धनेश्वर महादेव मन्दिरको पाटीवाट पठनपाठन सुरु भएको विद्यालय अघिल्लो बर्ष २०७४ मा बन्द भएसँगै स्थानीय युवाहरु निरास बनेका थिए । बिस २०३३ सालमा स्थापना भएको पनौती–५ धनेश्वर महादेव प्राथमिक विद्यालय अघिल्लो बर्ष बन्द भयो । काभ्रेको व्यापारिक नगरी बनेपासँगै धनेश्वर महादेवको आडमै रहेको विद्यालय बन्द भएपनि स्थानीयले खासै चासो दिएका थिएनन् ।

विद्यालय बिनाको गाँउ सुनसान देखिएको भन्दै स्थानीय अनिरुद्र थापासँगै केही युवाहरुले विद्यालय पुनः संचालनमा चासो देखाए । विद्यालय बन्द भएसँगै विद्यालयको जग्गामा भु–माफियाको आँखा लागिसकेको थियो । क्रमशः विद्यालयको जमिनको आकार खुम्चिन थालेसँगै यो बर्ष जसरी भएपनि विद्यालय संचालन गर्ने निर्णय भयो । पनौती नगरपालिकाले संचालन गरेको जनताको आँगनमा जनप्रतिनिधी कार्यक्रममा अनिरुद्र थापाले विद्यालय खोल्न आफूले चासो दिएको बताएपछि मेयर भिम न्यौपानेले विद्यार्थी संख्या र अभिभावकको चाहाना आफैले आएर बुझ्ने बताएका थिए ।

स्थानीय युवा अनिरुद्रले बोर्डिङ स्कूलमा पढिरहेको आफ्नो छोरालाई धनेश्वर प्राथमिक विद्यालयमा ल्याएर भर्ना गर्ने निर्णय गरेर बन्द भएको विद्यालय खोल्ने र नयाँ संरचनाले अघि बढाउने निर्णय गरेको बताएसँगै विद्यालयमा अहिले ४३ जना विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीको अभावमा विद्यालय बन्द भएसँगै विद्यार्थी संख्या बढाउने र अभिभावकको भेला बोलाउने कार्यमा धनेश्वरका युवाहरु सकृय बने । त्यसको परिणाम स्वरुप सोमवार विद्यालयको प्राङ्गणमा भेला भए । भेला भएका अभिभावकहरुलाई मेयर न्यौपानेले अब धनेश्वर महादेव प्राथमिक विद्यालय अंग्रेजी माध्यमवाट पढाई हुने बताए । उनले समुदायले विद्यालय दिएमा त्यहाँ आवश्यक रहेको भौतिक सामाग्री र मानव संसाधन आफूहरुले उपलब्ध गराउने बताए ।

वडा नं ५ का अध्यक्ष श्रीधर पाध्या कुइकेलले आफ्नो वडाको शैक्षिक सम्पत्तिको जगेर्ना गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले वडाले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पनौती नगरले एक जना शिक्षक र पाँच लाख रुपैया उपलब्ध गराएको थियो । पनौती नपाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले विद्यालयमा विद्यार्थी संख्या समुदायले बढाउने र सेवा सुविधा नगरले प्रदान गर्ने बताएसँगै ४३ जना विद्यार्थीहरु सो विद्यालयमा अध्ययन सुरु गरेका छन् ।

अब विद्यालयलाई अझ राम्रोसँग संचालन कसरी गर्न सकिन्छ भनेर राष्ट्रिय विभुषित नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरेर साउन २२ देखि धनेश्वरमा सत्संग महायज्ञ हुने शनिवार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । विशुद्ध सामाजिक भावना बोकेर बन्द भएको विद्यालयलाई पुनः संचालन गर्ने भएकाले सो महायज्ञमा दान दिनु हुन सबैलाई अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया