सुरक्षा श्रेष्ठ – 
टाढैबाट गुनगुन गरेको अवाज सुनिन्छ । हातमा सियो धागो अनि छेउमै रहेको बटुकोमा सितारा र पोतेहरु छन् । सियोले एक पछि अर्को गर्दै पोते र सिताराहरु टिप्दै बुट्टा भर्दै छिन् उनी । उनी अर्थात, भवानी थापामगर (नाम परिवर्तित), मख्मलको जुत्ता बताउँदै छिन् । एउटा सानो कोठाभित्र गोलो आकारमा बसेका छन् उनीहरु । अरु १५ जना महिलाहरु पनि सीतासँगै जुत्ता बनाउने सीप सिक्दै छन् । मख्मलका कपडालाई विभिन्न आकार दिने, बुट्टा भर्ने काम सिक्दै छन् । हेर्दा, जिन्दगीकै बुट्टा भरेजस्तै देखिन्छ ।

केही समयअघिसम्म, भवानीलाई आफ्नै जीवनदेखि बिरक्त लाग्थ्यो । काम गर्ने उमेर, जोश र जाँगर पनि नभएका होईनन्, सबै मरेर गए । अब त केही गर्नुपर्छ, आफ्नो लागि नभएपनि परिवारको लागि भएपनि केही गर्नुपर्छ । मनमा थुप्रै रहरहरुले डेरा जमाउँदै थिए , रहरका नयाँ टुसा उम्रदै थिए, नयाँ पलुवा लाग्दै थिए । तर पालुवा लाग्नै नपाई मरेर गयो । कारण केही वर्ष अघि उनको जीवनमा सोच्दै नसोचेको घटना घट्यो । उनी परिवारबाटै पीडामा परिन् । आफ्नैले दिएको पीडा सहन नसकेकाले पनि उनी विगतलाई सम्झिन चाहँदिन्न, त्यसैले पनि उनले सबै कुरा खुलेर बताईनन् । आफ्नो र छोराको ज्यान जोगाउन काठमाडौँ आउनु उनको लागि बाध्यता थियो ।

सुरुमा काठमाडौँको बसाई उनको लागि कष्टकर भयो । केही समयपछि उनलाई महिला आधारशीला (दि वोमन फाउन्डेसन नेपाल) संस्थाको साथ मिल्यो । उनी संस्थाकै संरक्षण बस्न थालिन् । उनका मुद्दाहरु मिलाउनको लागि संस्थाले कानुनी रुपमा सहयोग पनि ग¥यो । त्यसपछि उनको जीवनमा केही परिवर्तन आउन थाल्यो । विगतलाई भुलेर केही नयाँ गर्ने सोचमा थिईन् उनी । सीप सिक्ने पनि औधी रहर थियो उनमा । त्यसको लागि खाँचो थियो,अवसरको । खोजी गर्दै जाने क्रममा उनलाई एउटा संस्थाको साथ मिल्यो, जोरपाटी पार्टीछटारमा रहेको दि वोमन फाउन्डेसन नेपाल, जसले उनलाई सीप सिकाउन मद्दत ग¥यो । जुत्ता बनाउने सीप उनको रोजाईको क्षेत्र दुई महिनाको अवधिमा उनले जत्तामा सोल हाल्ने, सिलाउने, बुट्टा भर्ने काम जानी सकिन् ।

सीप सिक्न थालेपछि उनमा धेरै परिवर्तन आएको उनका सहकर्मीहरु बताउँछन् । केही नयाँ सिक्ने र गर्ने ईच्छाशक्ति भएको उनले बताईरहदाँ उनको मुहारमा नयाँ जोश र जाँगर पनि प्रष्टै झल्किन्थ्यो । सिकाईका सुरुका दिन केही असजिलो भएपनि अहिले उनलाई बानी परिसक्यो, आफ्नो अनुभव सुनाउँदै भन्छिन्,‘ सिकेकोमध्ये बुट्टा भर्न चाहीँ अलिकति गाह्रो छ । सिकाउनको लागि सर, म्याम्महरु हुनुहुन्छ । साथीहरुले पनि साथ दिनुहुन्छ । बिस्तारै जान्निछ, अझै १ महिना बाँकी नै छ ।’ अहिले उनी आफैमा काम गर्ने आत्मविश्वास पनि बढ्दै गएको छ । सीप सिकेपछि आफूले नयाँ जीवन पाएको महशुस गर्दै छिन् । अबको दिन अझ नयाँ बन्ने उनमा विश्वास पलाएको छ । जुत्ताको सीप सिकिसकेपछि व्यवसायिक रुपमा अगाडी बढ्ने उनले सोच बनाएकी छिन् । ‘एक्लैले व्यवसाय गर्न गाह्रै हुन्छ,’ उनले योजना सुनाईन्,‘साथीहरुसँग सहकार्य गरेर व्यवसाय गर्नुपर्छ । आफूजस्तै महिलाहरुलाई रोजगार दिन मन छ ।’ सीपले मानिसलाई सशक्त बनाउँदो रहेछ भन्ने कुरा उनलाई उनको अनुभवले सिकाएको छ ।

घर उनको झापा, हालको बसाई जोरपाटी, पार्टीटार । काठमाडौँमा उनको बसाई निकै लामो समय यताकै हो, तर उनलाई सम्झना छैन, भन्छिन्, ‘खोई कति वर्ष भयो, ठ्याक्कै थाहा भएन, भयो होला त्यस्तै १८÷१९ वर्ष ।’ सीप सिक्न उनी बिहान साढे १० बजे नै कार्यालय पुग्छन् अनि सीप सिकेर ३ बजे फर्किन्छिन् । संस्थाले उनलाई सीप सिकाएर मात्र साथ दिएको छैन , उनलाई खाजा खर्चको पनि व्यवस्था गरेको छ । केही समय अघिका भवानीका दिनहरु पट्टेर लाग्दा हुन्थेँ, सीप सिक्न थालेपछि काममै रमाउन थालेकी छिन् । ‘सिप सिक्दा धेरै रमाईलो हुन्छ,’ अनुभव सुनाउँदै भनिन्, ‘सिक्न आउने सबै महिलाहरु भएकाले पनि गफगाफ गर्दै, एक अर्कामा सिक्दै गर्दा दिन बितेको पनि मेसो पाईदैन ।’


तपाईको प्रतिक्रिया