काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरीमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ ।

सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । विभिन्न स्थानमा आकाशे पुलको माग भइरहेकामा बढी आवश्यक स्थानलाई छनोट गरिएको उहाँको भनाइ थियो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, ‘माग भएकामध्ये पनि बढी आवश्यक ठाउँमा अहिले बनाएर अरु स्थानमा प्रक्रिया अघि बढाइनेछ ।’ टेकु, त्रिपुरेश्वरलगायतका स्थानमा पनि आकाशेपुल निर्माणको माग भएको छ ।

ती स्थानमा पनि पहिले अध्ययन गरेर डिजाइनको काम अघि बढाइनेछ । चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । सडक विस्तारका क्रममा रहेको भन्दै काम नगरिएको प्रवक्ता डङ्गोलले बताउनुभयो ।

काठमाण्डाैमा सवारी साधनको चाप बढेसँगै आकाशेपुलको माग बढिरहेको छ । काठमाण्डाैमा सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् । यसले गर्दा एकातिर सडकमा जाम हुने र अर्कातिर यात्रुलाई बाटो काट्न मुस्किल रहेको छ ।


तपाईको प्रतिक्रिया