काठमाण्डौ – सत्तारुढ दल नेकपाले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल पत्रकार महासंघसँगको भेटमा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्सिल विधेयक संशोधन गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो ।

आफ्नै कार्यकक्ष सिहंदरबारमा मिडिया काउन्सिल विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीलाई नेम्वाङले विधेयक संशोधन गर्न सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।  उहाँले पत्रकारको आन्दोलनकै कारण राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल विधेयकलाई अगाडि नबढाइ होल्ड गरेर  राखेको बताउनुभयो ।

सरकार पत्रकारकै हकहितमा रहेकाले यो विधेयक संशोधन हुने उहाँको भनाइ छ । विधेयकको पदाधिकारीको नियुक्तिको मापदण्ड, समाचार लेखेकै आधारमा कारबाही र जरिबानालगायतका बुँदा सच्चाउन महासंघले लिखित रुपमा ध्यानाकर्षण गराएको थियो ।

जवाफमा उहाँले सरकार विधेयक सच्याउन सकारात्मक रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो । महासंघका अध्यक्ष अचार्यले भने पत्रकार र सरोकारवालाहरुसँग छलफल गरेर मात्रै आन्दोलन गर्ने नगर्नेबारे निर्णय लिने बताउनुभयो ।


तपाईको प्रतिक्रिया