नमोबुद्ध – नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो । एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको नगरका उपप्रमुख एवं एकल महिला समूह काभ्रेपलाञ्चोकका अध्यक्ष रामदेवी तामाङले बताउनुभयो । उहाँले एकल महिलालाई विभिन्न स्रोतमार्फत आयआर्जनमा सहयोग गर्दै स्वरोजगार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पाँच दिने तालीममा बेमौसमी तथा मौसमी तरकारीखेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, लहरे तरकारी बाली, यिनका महत्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा माटो परीक्षण एवं सुधार तथा तरकारी र फलफूल खेतका लागि आवश्यक प्राङ्गारिक मल प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको एकल महिला समूह नमोबुद्ध नगर समितिका अध्यक्ष ललिता पराजुलीले जानकारी दिनुभयो ।

नगरमा एक हजार ३५ जना एकल महिला छन् । उनीहरुमा परम्परागत खेतीभन्दा आधुनिक एवं व्यावसायिक तरिकाले तरकारी तथा फलफूल खेतीका लागि बगैँचा स्थापना एवं व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको नगरका कृषि शाखाप्रमुख रेशम दाहालले बताउनुभयो ।

तालीममा स्थानीय तरकारी तथा फलफूलका लागि उपयुक्त हावापानीअनुसार प्रतिमहिला छ वटा फलफूलको बिरुवा वितरण गरिएको छ । नगरका कृषि संयोजक एवं ९ नम्बर वडाध्यक्ष मेलबहादुर तामाङले नगरका सबै बासिन्दाले अनिवार्य रुपमा व्यावसायिक कृषकबाहेक कम्तीमा पाँचवटा मात्रै भए पनि फलफूलका बिरुवा रोप्नुपर्ने नीति बनाइएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया