धुलिखेल – जिल्ला प्रशासन कार्यालय काभ्रेले बजार अनुगमनको कामलाई तिब्रता दिएको छ ।

काभ्रेको दोलालघाट बजारमा गरिएको बजार अनुगमनमा म्याद गुज्रेको सामाग्री र माछामा अखाद्य बस्तु मिसाएको पाएको छ । बजारमा अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी नेतृत्वको टोलीले गरेको बजार अनुगमनमा पसल सञ्चालकहरुले म्याद गुज्रेका विभिन्न खाद्य सामग्रीहरु विक्री वितरण गरेको पाइएको छ । ]]

उक्त क्षेत्रका दर्जानौ पसलहरुमध्ये ५/६ वटा पसलमा म्याद गुज्रेका र अखाद्य बस्तुहरुको समेत प्रयोग गरी विक्री वितरण गर्दै आएको पाएपछि ति सामग्रीहरु नष्ट गरेका छन् । जिल्ला बजार अनुगमन समितिले गरेको अनुगमनमा केही खाद्य र पिय पदार्थहरुको समय गुज्रेका बस्तुहरु संकलन गरी नष्ट गरेको समितिका संयोजक पुरीले बताउनुभयो ।

जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित दोलालघाट बजारमा खुल्ला रुपमा बाहिर नै राखेर विक्री हुँदै आएको माछामा अखाद्य बस्तुहरु प्रयोग गर्नुका साथै धुलो धुँवा मिसिएको पाईएको बताउँदै त्यसको लागि सुरक्षित तवरले विक्री गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय र काभ्रे उद्योग वाणिज्य संघको संयुक्त अनुमगन टोलीले सो अनुगमन गरिएको हो ।


तपाईको प्रतिक्रिया