धुलिखेल – काभ्रे जिल्ला धुलिखेल नगरपालिका- ६ स्थित नर्थपोल होटलबाट १ लाख ५७ हजार नगदसहित ८ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका शनिबार बेलुका ९ बजे होटलमा छापा मार्नेक्रममा नगदसहित आठजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए । उनले लुकिछिपी होटलमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा होटल संचालक सहित अन्यलाई पक्राउ गरेको बताए ।

प्रहरीका अनुसार तास खेलिरहेका ८ जनाको साथबाट नेरु १ लाख ५७ हजार नेपाली, १९ अमेरिकी डलर, भारु ५ हजार ९ सय १० रुपैया, ३१ युरो, १० अष्ट्रेलियन डलर बरामद भएको छ । ताससहित होटल संचालक दीपेन्द्र धिताल र सुबाश गिरी, नारायण भुजेल, रामेश्वर तिमल्सिना, सुमन तिमल्सिना, नवराज सुवाल, अमृत भन्डारी र कुमार गिरी पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई जुवा तास ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी गिरीले बताए । धुलिखेल क्षेत्रलाई जुवारहित नगर बनाउनका लागि आफू र जिल्ला प्रहरी कार्यालय काभ्रे लागिपरेकाले यसमा सबैले सहयोग गर्न समेत गिरीले आग्रह गरेका छन्।


तपाईको प्रतिक्रिया