उठेर कसलाई सम्झाउन सक्छ कफनको मान्छे।

#गजल
चिच्याई चिच्याई बोलाइरहन्छ आँगनको मान्छे।
उठेर कसलाई सम्झाउन सक्छ कफनको मान्छे।

बाआमाले छोडेदेखि म काचो फलाम नै रहेँ।
अब मलाई खन्जर बनाइदेऊ ए! आरनको मान्छे।

तपाईं सिंहासनमा हुँदा पनि देश बोक्न सक्नु हुन्न।
आमा छातीमा, मृत्यु पिठ्युँमा बोक्छ पल्टनको मान्छे।

आँखामा सुनामी उठ्नुको कारण पत्तालाग्यो।
तुफान बोकेर बसेको रहेछ धड्कनको मान्छे।

मनसँग खेलेर पनि दुखी हुने हामी ठूला मान्छे हौँ।
बरु गुडियासँगै खुसी देखिन्छ बचपनको मान्छे।

पृथक् हिमाल ओली
पल्टनबाट