तेमाल – काभ्रेको तेमाल गाँउपालिका–९ का कृषक यतीबेला औधी खुसी छन् । पोहोरसम्म ४० हजारमा मुस्किलले बिक्री हुने लैनौ भैसी यो बर्ष १ लाखमा बिक्री हुन थालेपछि उनीहरुमा खुसी बढेको हो । ‘४० लाखमा भैसीको मूल्य छिनेपनि मेच्छे पौवासम्म ल्याएपछि मात्रै पैसा पाइन्थ्यो,भिरवाट लड्यो भने आफ्नै जान्थ्यो तर अब त्यस्तो भएन’ मेच्छे अन्तरगाँउका लालबहादुर तामाङले भने ‘ गाँउसम्मै सडक आएपछि भैसी लडेर मर्ने चिन्ता भएन ।’

छिमेकी गाँउमा लैनौ भैसीहरु एक लाखसम्ममा किनबेच गरेपनि मेच्छेको अन्तरगाँउ,गैरीगाँउमहिनाजाङका कृषकले भने ४० हजारभन्दा धेरै भैसीको मोल पाएका थिएनन् तर सडक खनेसँगै उनीहरुले भैसी राम्रो दाममा बेच्न पाएका छन् । गाँउवाट पौवासम्म ल्याउने सकिदैनथ्यो, बर्षका २÷४ ओटा भैसी भिरवाट लडेर मर्ने भएपछि उनीहरुले भैसी बेच्ने गर्दैनथे । तर तेमाल गाँउपालिकाले ३० रुपैया सडकमा विनियोजन गरेर सडक बनेपछि ४० हजारको भैसी एक लाखमा बिक्री भएपछि किसान असाँध्यै हौसिएका छन् ।

काइला तामाङले झण्डै एक लाखको हाराहारीमा भैसी बेचेपछि औधी खुसी भएका छन् । ‘२ बर्षअघि ४० हजारमा मोलतोल छिनेपछि पौवासम्म लान नसक्ने देखेर भैसी बेचिन अहिले त्यही भैसीको एक लाख पाए,सडक त निक्कै आवश्यक चिज पो रहेछ’ काइलाले खुसी व्यक्त गर्दै भने । सडक निर्माणसँगै त्यहाँका ४० भन्दा घरपरिवारले भैसीको राम्रो दाम पाउने भएका छन् । घरैपिच्छे चारओटासम्म भैसी भएपनि उनीहरुले दुधजन्य उत्पादन बाहेक अरु बिक्री गर्न सकेका थिएनन् ।

‘माथि पौवासम्म लान पनि नसकिने तल रोशीतिर झार्न पनि नसकिने अवस्थाकै कारण ४० हजारमै भैसी बिक्री गर्न बाँध्य थियौ’ स्थानीय चम्पासिं तामाङ तामाङले भने ‘अब हामीले भैसीको राम्रो मूल्य पाउने भएका छौ ।’ अन्तरगाँउ गैरीगाँउ महिनाजाङ सडक निर्माण समितिका अध्यक्ष दिलबहादुर थोकरले सडक निर्माणपछि त्यहाँका जनताको आयस्रोतको बृद्धि भएको सुनाए । ‘भिरको बिचमा रहेको बस्तीका जनताले ४० हजारमा बेच्दै आएको भैसीको मोल एक लाख पुगेको छ ।’


तपाईको प्रतिक्रिया