डोल्पा – धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको ज्यान गएको छ । ज्यान गुमाएकामध्ये अधिकांशको लेक लागेर र लडेर ज्यान गएको हो ।

ज्यान गुमाउनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर ज्यान गएको छ । यस्तै जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डेको यही जेठ १० मा कागमारा लेकमा भीरबाट लडेर ज्यान गएको थियो ।

डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर ज्यान गएको हो । त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको यही जेठ १७ गते लेक लागेर ज्यान गएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको यही जेठ १८ गते ज्यान गएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबीसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर ज्यान गएको हो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाकोकाे ज्यान गयो ।

यसैगरी, जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो ।

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।


तपाईको प्रतिक्रिया