हेटौंडा – प्रदेश–३ सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । प्रदेशसभामा जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम शुक्रबार सत्तापक्ष र प्रतिपक्षी सांसद्बीचको सघन घोचपेचबीच बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षीय सांसद्ले नीति तथा कार्यक्रम राम्रो भएको विचार राखे पनि प्रतिपक्ष लगायत दलका सांसद्हरुले नीति तथा कार्यक्रम प्रचारमुखी र नारैनारा मात्र आएको आरोप लगाएका थिए । नीति तथा कार्यक्रमको छलफलको क्रममा सत्तापक्ष र प्रतिपक्षबीच केही समय जुहारीसमेत चलेको थियो ।

‘गत वर्ष प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्दा हाल पुँजीगत खर्चको अबस्था ज्यादै न्यून देखिन्छ । जसका कारण प्रदेश सरकारले घोषणा गरेको उद्योग वर्ष असफल भयो,’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रमलाई ‘सुन्दर नाराहरुले भरिएको संग्रह’ भन्दै टिप्पणी गर्नुभयो ।

प्रदेश–३ लाई सबल, समृद्ध प्रदेश बनाउन दुई तिहाइ बहुमतको प्रदेश सरकारले ल्याएको दोस्रो बर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद् रिता माझीले जनतामा आशा र विश्वास सिर्जना गर्नसक्ने कुनै आधार नभएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गर्नुभयो ।

सांसद् माझीले भन्नुभयो–पहिलो वर्षमा पारित गरेका तर कार्यान्वयन गर्न असफल भएका कार्यक्रमको कुनै समिक्षा नगरी ल्याइएको नीति तथा कार्यक्रम आत्मप्रशंसा, उग्रमहत्वकांक्षी, परम्पराको निर्वाह र कर्मकाण्डीको रुपमा मात्र छ ।

प्रदेशको नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको भन्दै प्रदेश सरकारले गर्ने कार्यक्रममाथि नै प्रश्न खडा भएको सांसद् माझीले बताउनुभयो ।

यता प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई पूर्वाग्रही भएर नहेर्न सांसद्हरुसँग आग्रह गर्नुभयो । नीति तथा कार्यक्रममाथि सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले नीति तथा कार्यक्रम एउटै भाषामा लेखिएको बताउँदै भन्नुभयो–एउटै भाषामा लेखिएको कार्यक्रममा तपाईंहरुको हेर्न दृष्टि मात्र फरक देखें । हेर्ने दृष्टि राम्रो हुनुपर्छ, कार्यक्रम आफैंमा राम्रो छ ।

संघीय सरकारले गर्ने काम प्रदेश सरकारले गरेन भन्नु जायज नभएको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो– संघीय सरकारले गर्ने काम यहाँ गरेन भनेर धेरै आलोचना गरियो । हाम्रा आफ्नै सीमा छन् । संविधानमा उल्लेख गरेका जिम्मेवारीसाथ काम गरेका छौं । संविधान पढ्न जरुरी छ । तीनै तहका सरकारले सहकार्य र समन्वय गरेर मात्र काम गर्न सक्छन् । सबै अधिकार तोकिएको छ, त्यही अधिकार अनुसार हामीले काम गरेका छौं । नेपाल समाचारपत्रमा खबर छ ।


तपाईको प्रतिक्रिया