काठमाडौं – नेकपा विप्लव समुहको आजको लागि घोषित नेपाल बन्दलाई लक्षित गर्दै राजधानी लगायत देशका विभिन्न ठाउँमा विष्फोटका श्रृंखला भएका छन् ।

आइतबार सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा ४ जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । उक्त विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले बताएको छ ।

प्रहरीले अनामनगर विस्फोटमा घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि गरेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ । नेपाल प्रहरीको उच्च स्रोतले दुवै ठाउँको विस्फोटमा विप्लव समूहको संलग्नता रहेको जनाएको छ ।

यस्तै प्रहरीले सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । प्रहरीका अनुसार विस्फोट भएको दुवै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।

यता ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसपार्कको फोहोरको थुप्रोमा सो बम फेला परेको हो । धोविघाटमा पनि बम भेटिएको थियो । त्यसलाई पनि बेलुका नै डिस्पोज गरिएको छ । सुकेधारा र घट्टेकुलोमा भएको विष्फोटमा ४ जनाको मृत्यु भए लतत्तै ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको हो । ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल अगाडि सडकमा राखिएको कुकर बम भने नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको छ। साँझ ७ : ४० बजे राखेको बम सेनाको टोलीले राति ९ : ३० बजे डिस्पोज गरेको हो।

उता थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।

राजधानीमा बम विस्फोट हुने क्रम जारी रहेको छ । प्रहरीले सुरक्षा व्यबस्था कडा बनाएको बताएपनि डरत्रास उस्तै छ । सजग रहन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया