बनेपा – चार दिनसम्म चल्ने काभ्रेको चण्डेश्वरी जात्रा आज सम्पन्न भएको छ ।

बैशाख शुल्क पूर्णिमाको दिन लाग्ने प्रसिद्ध चण्डेश्वरी जात्रा काभ्रेको बनेपा र आसपासका नेवारी बस्तीहरुमा रौनकता छाएको छ । चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि एक महत्वपूर्ण चाड पनि हो । हिजो बनेपाको तीनधाराबाट चण्डेश्वरी मन्दिरमा लगिएको खाली रथलाई जात्राको अन्तिम दिन आज रथमा चण्डेश्वरी माईको मुर्ती राखेर बाजागाजा सहित बनेपा बजार परिक्रमा गरी लायकु दरबार पु¥याएपछि जात्रा सम्प्न्न भएको हो ।

लामो इतिहास बोकेको चण्डेश्वरी जात्रालाई बनेपालीहरुले विशेष श्रद्धा र आस्थाका रुपमा लिने गर्दछन् । चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ । १२ वटा बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिने परम्परा रहिआएको छ ।
दैत्यराज चण्डासुरलाई बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा कुमारी चण्डेश्वरी प्रकट भइ चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरी देवगणको रक्षा गरेको किंवदन्ती छ ।

यसैको खुशीयालीमा हरेक बर्ष चण्डेश्वरी जात्रा मनाइँदै आएको धार्मिक कथन छ । जात्रा हेर्न काठमाडौ उपत्यका लगायत सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका स्थानबाट बनेपा आउने गर्दछन् । जात्रा मनाउन बनेपा नगरपालिकाले आज एक दिन सार्वजानिक विदा समेत दिएको थियो ।


तपाईको प्रतिक्रिया