धुलिखेल – नयाँ वर्षको सुरुवात सँगै सरकारले सुरु गरेको देशैभर ‘खोलौं बैंक खाता’ अभियान सुरु भई रहदाँ काभ्रेको केही स्थानीय तहमा भने अझै पनि बैंक पुग्न सकेको अवस्था छैन ।

सरकारले गत आर्थिक वर्ष २०७४÷७५ मै सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएको थियो । तर, ४१ वटा स्थानीय तहमा अझैसम्म बैंक पुग्न सकेको छैन । राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार ७५३ स्थानीय तह मध्ये ७११ तहमा वाणिज्य बैंक पुगेका छन् । काभ्रेको खानीखोला गाउँपालिका बाहेक सबै स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध रहेको छ । उपलब्ध भएका बैंकहरु पनि सर्वसाधरणको पायक पर्ने ठाउँमा नहुदाँ बैंकिङ कारोबारको लागि नागरिकलाई घण्टौँ धाउनुपर्ने बाध्यता अझै पनि उस्तै छ ।

काभ्रेको खानीखोला गाउँपालिकामा भने अहिलेसम्म बैंक पुग्न सकेको छैन । खानीखोला गाउँपालिकाको जानकारी अनुसार बैंक स्थापनाको लागि तयारी भईरहेको छ । अबको केही हप्ताबाटै गाउँपालिकामा बैंकिङ कारोबार सुरु हुनेछ । गाउँपालिकाको सबै वडाका नागरिकलाई बैंकमा पहुँच गराउनको लागि एस.बि.आई बैंकसँगको सहकार्य गरिरहेको गाउँपालिकाको अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । उनले भने ‘बैंक स्थापनाको तयारीमा नै जुटिरहेका छौँ । अबको १÷२ हप्तामा नै एस.बि.आई बैंकको शाखा खोल्ने छौँ ।’ सरकारले सुरु गरेको ‘खोलौँ बैंक खाता’ अभियानप्रति सकारात्मक हुनुको साथै यस अभियानमा साथ दिन गाउँपालिका तत्पर रहेको अध्यक्ष खुलाले बताए ।

महाभारत गाउँपालिकामा सनराईज बैंकले शाखा स्थापना गरेको ६ महिना भयो । गाउँपालिकाको कार्यालय आसपासको क्षेत्रमा रहेको उक्त शाखा भने सबै सर्वसाधरणको पायक ठाउँमा भने छैन । गाउँपालिकाका हरेक नागरिकलाई बैंकसम्म पहुँच गराउनको लागि गाउँपालिकाले प्रत्येक वडामा सनराईज बैंकसँगको सहकार्यमा घुम्ती बैंकिङ सेवा सञ्चालन गर्ने योजना बनाई रहेको गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले बताए । उनले भने, ‘घुम्ती बैंकिङ सेवाले नागरिकलाई बैंकसम्म पहुँच गराउनको लागि सहज गराउनेछ भन्ने अपेक्षा राखेका छौँ ।’ त्यस्तै काभ्रेको चौरी देउराली , तेमाल, रोेशी र बेथानचोक गाउँपालिकामा पनि १ वटा मात्र बैंकिङ शाखाबाट नागरिकले बैंकिङ कारोबार गर्दै आएका छन् ।

शहरी भेगमा अवस्थित रहेका स्थानीय तहमा पनि बैंकिङ कारोबार प्रभावकारी हुन नसकेको जनगुनासो छ । सरकारले आर्थिक वर्ष २०७४÷७५ मै सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएको थियो । तर, बितेको डेढ वर्षमा केही स्थानीय तहमा अझैसम्म पनि बैंक पुग्न सकेको छैन । नागरिकको पहुँचमा अझै पनि सहज तरिकाले बैँक पुग्न नसकेको अवस्थामा सरकारले सुरु गरेको यो अभियानमा सफल पार्न निकै कठिन देखिन्छ ।


तपाईको प्रतिक्रिया