काभ्रेपलाञ्चोक (बनेपा) – बनेपामा चण्डेश्वरी जात्रा आउन केही दिनमात्रै बाँकी छ । तर यहाँ हरेक साता फोहोर फाल्ने जात्रा लाग्दछ । एक सातामा एक पटक फोहोर संकलन गर्न बजारभित्र ट्याक्टर आँउदा बनेपामा जात्रा लागेको जस्तै हुन्छ ।

बनेपाका स्थानीय मनिष भोछिभोयाले सामाजिक संञ्जालमा फोहोर फाल्ने गाडीमा फोहोर फाल्न जात्रामा जस्तै तछाडमछाड गरेको फोटो राख्दै बनेपाको जात्रा भनेर उल्लेख गरेका छन् । योक्रम केही बर्षदेखि निरन्तर चलिरहेको छ । काभ्रेको बनेपा केही बर्षदेखि फोहोरी बन्दै गएको छ । काभ्रेकै पुरानो नगरपालिका भएपनि फोहोर व्यवस्थापनमा नगरले चासो दिन नसक्दा फोहोरी शहरको रुपमा बनेपा विकास भैरहेको छ ।

फोहोर फाल्न तछाँडमछाड गर्दै बनेपाका स्थानीय

बनेपाको मुख्य सडकको आसपासका स्थानीय नागरिक फोहोरको गाडी आउने दिनमा फोहोर फाल्न तछाडमछाड गर्ने अवस्था आउने गरेको छ । पानी जारको किनेर खाएपनि फोहोर फाल्न ठाँउ अभाव भएपछि फोहोर लिन गाडी आउने दिनमा बनेपामा जात्रा जत्तिकै हुन्छ । बनेपाका अधिकाशं वडामा फोहोर लिन ट्याक्टरनै जाँदैन जाने ठाँउमा पनि जात्रा जस्तै हुन्छ बनेपाका स्थानीयहरु नगरको वर्तमान नेतृत्वसँग आजित भैसकेका छन् । ‘नगरमा पानी छैन, फोहोर फाल्न पाइदैन धुलो उढेर हैरानी हुन्छ,जनप्रतिनिधीले आँखा चिम्लिएर बसेका छन्’ अधिकाशं स्थानीयको आरोप छ ।
विगतका स्थानीय निकायका निर्वाचनमा नेपाली कांग्रेसवाट मेयर छानेका उनीहरुले यो पटक कम्युनिष्ट उम्मेदवारलाई मेयरमा विजयी बनाएपनि उनीहरुले केही पनि गर्न नसकेको आरोप बनेपालीको छ । कम्युनिष्टवाट आशा थियो बनेपाको स्थानीय सरकारले हामीलाई धोका दियो एक बनेपाका स्थानीयले बताए ।

‘बनेपा नेपालकै सबैभन्दा दुषित शहर बन्दै छ, अब फोहोर गाडीमा हाल्न पाएको दिनमा समेत सौभाग्य ठान्ने दिन आएछ’स्थानीय सिद्धिगोपाल मानन्धरले फेसबुकमा स्टाटस लेखेका छन् । उनै मानन्धरले बनेपाका चोकचोकमा फोहोरको डंगुर थुप्रिन थालेपछि फोहोर फाल्ने ठाँउमा भगवानका मुर्ती राख्दै फोहोर कम गर्ने अभियान समेत थालेका थिए । बनेपाको मुख्यचोकहरुमा फोहोर संकलन गर्न गाडी आउने भएपनि अधिकाशं ठाँउमा गाडीनै पुग्ने गरेको छैन । केही समयदेखि बनेपाले फोहोर फाल्दै आएको श्रीखण्डपुरमा स्थानीयको अबरोधको कारण बनेपाको फोहोर सिसडोल लाने बाँध्यता कायमै भएकाले समस्या आएको नगरपालिकाको तर्क छ ।

फोहोर फाल्न तछाँडमछाड गर्दै बनेपाका स्थानीय

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादे श्रेष्ठले केही दिनमै बनेपाको फोहोर व्यवस्थापनको जिम्मेवारी जापानीज कम्पनीलाई दिने निर्णय भएको र बनेपाको फोहोरको समस्या केही दिनमै समाधान हुने वादेले बताए । सडकमा फोहोरको डंगुरमात्रै हैन खोला किनाराका स्थानीयहरुले सिनोको आंतक बेहोर्न बाँध्य भएका छन् । बनेपाको पुण्यमाता खोलामा मरेको गाई गोरु र कुकुरमात्रै हैन पछिल्लो समय मरेको कुखुरा समेत फाल्न थालिएको छ ।

स्वास्थ्य मन्त्रालयले केही दिनअघि काभ्रेका एक युवाको बर्ड फ्लूवाट मृत्यु भएको सार्वजनिक गरेको थियो । त्यसको केही दिनपछि बनेपास्थित पुण्यमाता खोलामा फालिएका मरेका कुखुराको परिक्षणको लागि नमूना संकलन गरिएको छ । बनेपा ४ र ९ जोड पुलको मुन्तिर फालिएका बोइलर जातका कुखुरामा वर्डफ्लु वा कुनै संक्रमण भएको हुुन सक्ने भन्दै बनेपा नगरपालिकाको पशुपंक्षी विकास शाखाले नमूना संकलन समेत गरेको थियो ।

दुर्गन्ध फैलेर खबर गरेपनि नगरपालिकाले वेवास्ता गरेको स्थानीयको आरोप छ । खोलामा पटक पटक सिनो फाल्ने भएपनि नगरमा नगरप्रहरी भएपनि नगरले वेवास्ता गरेको स्थानीय सुनाउँछन् ।


तपाईको प्रतिक्रिया