रौतहट – भुक्तानीको लागि करोडौँ रुपैयाँ बाँकी राख्दै उद्योग बन्द भएपछि किसानहरुमा फेरि निरासा बढेको छ । विगतका वर्षहरुको ८ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ ।

गत पुस महिनामा संचालनमा आएको उद्योगले १३ लाख ७७ हजार १ सय ४ क्विन्टल उखु क्रसिङ गरेको छ । गतवर्षको रकम निकै बाँकी रहेको हुनाले किसानले उद्योगलाई उखु बिक्री गर्ला कि नगर्ला भन्ने आशंकाबीच संचालनमा आएको उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो ।

उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन । समयमा भुक्तानी नदिँदा गतवर्षकै ८ करोड बाँकी छ । उद्योगले १ लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ । उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना छ । चालु क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषकहरु बताउँछन् ।

उद्योगले राम्रो मुनाफा कमाउने भए पनि किसानलाई भने निकै दुःख दिएको आरोप किसानहरु लगाउँछन् । छ बिगाहा खेतमा लगाएको उखु चिनी उद्योगलाई बेचे पनि हालसम्म एक रुपैयाँ पनि भुक्तानी नदिँदा आफूलाई घर बनाउन निकै कठिन भएको गढीमाई नगरपालिकाको समनपुरका किसान कामेश्वर सहनीले बताएका छन् । उद्योगले भुक्तानी नदिँदा घरको सामान केही उधारोमा केही ब्याजमा पैसा उठाएर ल्याइरहेको बताउँछन् । आजको नागरिकमा खबर छ ।


तपाईको प्रतिक्रिया