काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन् ।

आइतबार कार्ल माक्र्सको २०१ औं जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन् । उनले भने , म एक्लै हिँडेर मात्र पनि हुँदैन । त्यसका लागि तपाईहरुको साथ चाहिन्छ ।

दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ?

पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो । कसिलो हुने गरी हात मिलाइन्थ्यो । हृदयदेखि भावना जागृत हुन्थ्यो । आफ्नोपनको अनुभूति हुन्थ्यो । हामीले जतिसुकै ठूला दुखकष्ट र चुनौती बिर्सन्थ्यौं । तर तपाइँ, हामीहरु आज देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरे हुन्थ्यो जस्तो गर्न थालेका छौं ।’

हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आए जस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन । ‘अहिले हाम्रो पार्टीमा कम्रेडहरु एकले अर्कोलाई छिर्किने हान्ने गर्नु भाछ, एउटाले अर्कोलाई सिध्याउन खोजे’, दाहालले थपे, ‘कम्युनिष्ट पार्टीभित्र पनि बदमासीहरु निस्किए ।’

हामीहरु हिजो जंगलमा सुत्यौं । तर जंगलको अनुभूति भएन । तर अहिले काठमाडौंमा लाखौंको बीचमा हुँदा पनि एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ ? प्रचण्डले प्रश्न गरे ।

‘मार्क्सवाद कुनै जमेको पोखरीको पानी जस्तो होइन । मार्क्सवादले वैज्ञानिक प्रयोग मान्छ । कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो । हामीले पोखरीको पानी भत्काउनुपर्छ । मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ ।’

मार्क्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभयो’ दाहालले भने ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र विघटन गर्ने प्रयोग मार्क्सले नै गर्नुभयो । तर हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरको आरोप लाग्छ । हामीले समय अनुसार कदम चाल्नुपर्छ ।’ आजको नागरिकमा खबर छ । 


तपाईको प्रतिक्रिया