मण्डनदेउपुर – काभ्रेको मण्डनदेउपुर–१० चण्डेनीमण्डनमा रहेको चण्डेनीमण्डन पशु बिमा सहकारीको १६ औं साधारण सभा प्रदेशका कृषि तथा सहकारी मन्त्री धावा दोर्जे तामाङको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।

चण्डेनी मण्डनमा भएको कार्यक्रममा बोल्दै मन्त्री तामाङले कृषि क्षेत्रमा आएको बजेट कृषिमै लगानी भएको छ की छैन भनेर स्थानीय स्तरमै अनुगमन आवश्यक रहेको बताए । उनले कृषि पर्यटन उद्योगवाटै समृद्ध नेपाल बनाउन सकिने बताए । कृषि पेशामा आत्मनिर्भर बनाउन प्रदेश सरकारले ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने मन्त्री तामाङले बताए । उनले कृषि क्षेत्रको बजारको व्यवस्थापन संकलन केन्द्र निर्माण गर्ने सहकारी संस्थाहरुलाई व्यावसायिक उत्पादनमूलक बनाउनको लागि प्रदेश सरकारको सहयोग रहने बताए । कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य लक्ष्मण लम्सालले आफ्नो निर्वाचन क्षेत्रका कृषकहरुलाई अनुदानको व्यवस्था गर्ने बताए ।

उनले कृषकहरुलाई उत्पादनमा जोड दिने र बजारीकरणमा समेत सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराएका थिए । उनले सो खेतीयोग्य जमिनमा सिंचाइका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवाले कृषि र शिक्षामा फड्को मारेको बताए । कार्यक्रममा वडानं १० वडाअध्यक्ष विष्णुमणी नेपाल, वडानं ८ वडाअध्यक्ष झलकप्रसाद पौडेल, वडानं ६ वडा अध्यक्ष डिल्ली आचार्य, सहकारी अगुवा दीपक पौडेल, काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण वडाल,मण्डनदेउपुर सहकारी संञ्जालका संयोजक सुमन नेपाल लगायतकाको उपस्थिती रहेको थियो ।

सहकारीका अध्यक्ष बलराम नेपालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न प्रतिवेदन पेश भएको थियो । सहकारीले सो बडाका ७ सय पशुहरुको बिमा गरेको छ । सहकारीको अध्यक्ष बलराम नेपाल,उपाध्यक्ष भिमबहादुर लामा, सचिव कान्छा नेपाल,कोषाध्यक्ष टंकप्रसाद नेपाल, लेखा समितिको संयोजक बद्रीप्रसाद नेपाल रहेका छन् ।


तपाईको प्रतिक्रिया