काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण टुङग्याउन दुवै पार्टीका उच्च तहमा बैठक चलिरहेका छन् ।

केही दिन भित्रै एकीकरण सक्ने गरी भट्टराई र यादवबीचको वार्ता सकारात्मक बनेपछि फोरमले २७ गतेदेखि गर्ने तय गरेको महाधिवेशन सार्न लागेको छ ।

महाधिवेशन सार्ने तथा एकीकरण वार्ता टुङग्याउने विषयमा निर्णय लिन उसले यही २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उता नयाँ शक्तिले पनि एकीकरण वार्ता सकारात्मक मोडमा पुगेपछि त्यसलाई अनुमोदन गर्न २० गते सचिवालय बैठक बोलाएको छ ।

फोरम उच्च स्रोतका अनुसार दुवै पक्ष २५ सदस्यीय राष्ट्रिय कार्यकारी परिषद् बनाएर पार्टी एकीकरण गर्न तयार भएका छन् । एकीकृत पार्टीको अध्यक्षमा पूर्वप्रधानमन्त्री भट्टराई रहने छन् भने कार्यकारी अध्यक्ष यादव रहने मोटामोटी सहमति भएको छ । २५ सदस्यीय परिषदमा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन् ।

पार्टीको नामसहित बाँकी कुरा टुग्याउन दुवै पक्षको बीचमा बुधबार राति अबेरसम्म बैठक चलेको थियो । नयाँ शक्तिका तर्फबाट भट्टराईका प्रतिनिधिका रूपमा नवराज सुवेदी र गंगा श्रेष्ठ र फोरम अध्यक्ष यादवका तर्फबाट राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले एकीकरण वार्ता गरिरहेका छन् । अन्नपूर्णमा खबर छ ।


तपाईको प्रतिक्रिया