काभ्रेपलाञ्चोक (दोलालघाट) – दोलालघाटवाट भुम्लुटार पुग्नै तीन घन्टा लाग्दथ्यो अब अहिले आधा घन्टामा पुगियो किर्डाक नेपालका काभे्रेका परियोजना संयोजक राजन भुर्तेलले अनुभव सुनाए । ‘अब चौरीदेउरालीको कालोपत्रे सकिएपछि कोशीपारि विकट भएन’ भुर्तेलले खुसी व्यक्त गर्दै भने ।भुकम्पपछि काभ्रेका भुम्लु गाँउपालिकाको विद्यालय भवन र स्वास्थ्यचौकीका भवनसँगै सेवामा व्यापकता आउने भएसँगै स्थानीयमा खुसीयाली छाएको छ ।

‘भुम्लु अब विकट रहेन’ शुक्रवारवाट भुम्लुको थप परिचय फेरिएको छ । गाँउमै बर्थिङ्ग सेन्टरको सुविधा भएको तीनओटा सुविधा सम्पन्न भवनहरु समुदायलाई हस्तान्तरण समेत गरिएको छ । ती स्वास्थ्यका भवनहरुवाट अब भुम्लुमै बर्थिङ सेन्टरको संचालन हुनेछ । भुम्लुका जनताहरु अब निरन्तर सुविधातर्फ उन्मुख बन्दै गएका छन् । टिडिएच सहयोगमा किर्डाक नेपालले सो भवनहरु भुम्लुका जनताका लागि उपहार प्रदान गरेका हुन् । अब सल्ले,टार र फँलाटेमै बर्थिङ सेन्टरहरु संचालन भएका छन् । काभ्रेको विकट गाँउमा पर्ने भुम्लुमा एम्बुलेन्स सेवा सहित अब स्वास्थ्यको अत्याधुनिक भवन समेत भएको छ ।

अब बर्थिक सेन्टर समेत संचालन हुने भएपछि स्थानीयमा खुसी छाएको छ । भुम्लु गाँउपालिकाका प्रत्येक ,वडाहरु अब स्वास्थ्य संस्थाको पँहुचमा पुगेका छन् ।
संञ्चार,सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले निरन्तर रुपमा काम गरिरहने बताएका छन् । काभ्रेको विकट कोशीपारिको भुम्लु गाँउपालिकामा भुकम्पपछि निर्माण भएका तीनओटा स्वास्थ्यचौकी तथा एम्बुलेन्स गाँउपालिकालाई हस्तान्तरण गर्दै मन्त्री बाँस्कोटाले सामाजिक संञ्जालमा सरकारको विरोध गर्नेहरु गर्दै जाने तर सरकारले भने आफ्नो काम निरन्तर रुपमा गर्दै जाने दावी गरेका छन् ।  सरकारले क्रमिक रुपमा बृद्धभत्ता पाँच हजारसम्म पु¥याउनेमा ढुक्क रहन सबैलाई अनुरोध गर्नु गरेका छन् । उनले सरकारले बृद्धभत्ता बार्षिक एक हजार रुपैया बढेपनि स्वास्थ्य बिमाले एक लाखसम्मको उपचार गराउन सकेको बताए ।

उनले तराई हिमाल पहाडमा विकास भैरहेको बताए । हामीले विद्यार्थीदेखि युवासम्म अनि महिलादेखि बृद्धसम्मलाइ हुने विकास निर्माणका काम गरिरहेका छौ । भुकम्पले भत्किएका संरचनाहरु क्रमिक रुपमा निर्माण भैरहेको र स्वास्थ्यचौकी निर्माणले यहाँका जनताले सेवा पाउने मन्त्री बाँस्कोटाले बताए । भुकम्पवाट क्षती भएको सल्लेभुम्लु स्वास्थ्यचौकी २ करोड ३ लाखमा निर्माण भएको हो । सो भवनसँगै फलाटे र भुम्लुटारका थप दुईओटा भवनको समेत उहाँले समुद्घाटन गरेका छन् । सो अवसरमा भारत सरकारले उपलब्ध गराएको एम्बुलेन्स समेत मन्त्री बाँस्कोटाले भुम्लु गाँउपालिकालाई हस्तान्तरण समेत गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जनताको काममा आफू निरन्तर सकृय बनेर लागेको बताए । गाँउपालिका प्रमुख गुमानध्वज कुँवरले सबैको साझा उदेश्यको आधारमा आफू अघि बढेको बताए । उपाध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य प्रेम लामाले भुम्लुमा स्वास्थ्य संस्था विकास भएकोमा खुसी व्यक्त गरेका थिए । ७ करोडको लागतमा निर्माण भएका तीन ओटा स्वास्थ्यचौकी निर्माण भएका हुन् । क्रिडाक नेपालका अध्यक्ष रनलाल कुलालले स्वास्थ्य संस्थावाट धेरैले सेवा लिने विश्वास गरे ।

तेर दे जोम (टिडिएच)को आर्थिक सहयोगमा किर्डाक नेपालद्वारा सो सहयोगमा भवन हस्तान्तरण भएसँगै कोशीपारिको भुम्लुका स्थानीयहरुमा स्वास्थ्य सेवाको पँहुचमा विस्तार भएको छ ।  स्थानीय तहको निर्वाचनपछि काभ्रेको विकट मानिएको भुम्लु गाँउपालिकामा विकासमा तिव्रता छाएको स्थानीय बताउँछन् । साविक गाविस भएको समयमा सचिवहरु गाँउमा देख्न नपाउने स्थानीयहरु गाँउपालिकाकै कार्यालयमा जनप्रतिनिधी तथा कर्मचारी पाउँदा औधी खुसी देखिएका छन् ।


तपाईको प्रतिक्रिया