बनेपा – जिल्ला समन्वय समिति काभ्रेका प्रमूख उद्धब केसीले केन्द्रीकित शासन प्रणालीमा जनप्रतिनिधिले अह्राएको मात्र काम गरेपनि अहिलेका जनप्रतिनिधि अधिकार सम्पन्न भएको बताएका छन् ।

अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती विषयमा बनेपामा आयोजित छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । एफएचआई र यूएसएडको सहयोगमा इन्सेकले पैरवी संयन्त्रहरूबीच विश्वास र सहकार्य बढाउन यहाँ छलफल कार्यक्रम गरेको हो । राष्ट्र बनाउने कुरा ख्यालठट्टा नभएको बताउँदै केसीले सबै जनप्रतिनिधि पहिलो हुने होडमा हतार गर्ने गरेकाले ‘केही समस्या’ देखिएको बताए । उनले पुरानै अवस्था भएमा व्यवस्था टिकाउन समस्या हुने बताउँदै शुरुवात राम्रो भएकाले आशावादी र सकरात्मक हुन् जोड दिए ।

पनौती नगरपालिका उप-प्रमुख गिता बन्जाराले आफ्नो नगरपालिकाले महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षाका लागि महत्वपूर्ण कामहरू गरिरहेको उल्लेख गर्दै नागरिक समाजका हरेक राम्रा काममा साथ र सहयोग रहने बताइन । बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीले भूकम्पपछिका केही समयमा देखिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अहिले हराएको उल्लेख गर्दै आफ्ना वडामा हुने विकास निमार्णका सवाललाई नागरिक समाजकै अगुवाईमा प्राथमिकता निर्धारण गर्नेे गरेको बताए ।

उक्त कार्यक्रममा गै.स.स महासंघका सदस्य कमल बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नारायण सापकोटा, पत्रकार मधुसुधन गुरागाई, प्रल्हाद शर्मा हुमागाई, नागरिक समाजका अगुवाहरू भेषराज दनुवार, गायत्री गौतम र राजाराम गौतमले नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौतीका विषयमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम इन्सेकका काभ्रे प्रतिनिधि भोजराज तिमल्सिनाको संचालनमा भएको थियो ।


तपाईको प्रतिक्रिया