धुलिखेल – काभ्रे जिल्लाको विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण ३७ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा परी ५१ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार गत वर्ष १११ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताउनुभयो ।

चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको चापागाईंले बताउनुभयो । यस जिल्लामा अरनीको राजमार्ग र बि पी राजमार्गको कारण सवारीको निकै चाप हुने गर्दछ ।

ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै अहिलेका युवा वा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ ।


तपाईको प्रतिक्रिया