तेमाल – तेमाल गाँउपालिका वडानं ४ भंञ्जाङ गाँउका अग्रज युवा जगत तामाङलाई निद्रामा समेत गुम्बा बनाउन नसकेको भन्दै झस्याङ्ग हुन्थे । गाँउको डाँडामा रहेको गुम्बा २०७२ सालको भुकम्पले नराम्रोसँग लडाएको थियो । १८ औं शताब्दीमा उनीहरुका आठ पुस्ताअघिका जिजु बाजेहरुले गुम्बा निर्माण गरेका थिए ।

भुकम्पले लडाएको उनको भज्याङ गाँउको पुनः निर्माण भै सकेको थियो तर मनमा कुनै सन्तोषनै थिएन । ‘घर बनेपनि गुम्बा नबनेको कारणले औधी बैचन हुन्थ्यो,आज निक्कै खुसी छौ’ जगतले सुनाए । ‘ आफू सकिए केही समयमा मलम लाग्ने रहेछ तर सँस्कृती हराएमा सबैकुरा सकिने रहेछ’ जगतले भने ।

गाँउका युवाहरु निक्कै खुसी थिए । तेस्रो अवतारी लामा टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले गोल्पोटोल मणि संरक्षण समितिले निर्माण गरेको गोल्पोटोल ठाँटी मणिको ह्राब्ने प्रतिष्थापन गरेसँगै स्थानीयहरु औधी हर्षित देखिन्थे । जगत तामाङ निक्कै खुसीसँगै अब आफ्नो गाँउपनि पर्यटनसँग जोडिएको सुनाउँदै थिए ।

तेमालमा अब तामाङ संग्राहलय बन्दै छ,हामीले माने बनाऔं,तेमालमा गुरु रेम्पोचेको ऐतिहासिक स्थलसँगै भज्याङमा अर्काे गन्तव्य थपिएको बताए । उनले आफ्नो गाँउमा दोर्जे आकारको डाँडामा समेत गुम्बा बनाउने तयारीमा युवाहरु जुटेको बताए ।

गोल्पोटोल मणि संरक्षण समितिका अध्यक्ष उत्तरमान तामाङ जीवनमा पहिलो पटक विजयी भएको अनुभव आफूले पाएको सुनाउँदै थिए । उनीहरुलाई भुकम्प गएको यो चार बर्षको समय धेरै कष्टकर भयो । गुम्बा बनाउन उनीहरुले गुम्बा संरक्षण समितिवाट सहयोग आउने सुनेपनि कसैले पनि वास्ता नगरेपछि व्यक्तिगत रुपमा दान उठाउन सुरु गरे । उनीहरुले दान उठाउन सुरु गरेपछि वडा कार्यालयले ३ लाख रुपैया सहयोग गरेको संरक्षण समितिका अध्यक्ष तामाङले बताए ।

गाँउको बिचमा रहेको गुम्बा नबन्दा चिन्तामा पर्ने गाँउलेहरुमा निक्कै उर्जा थपिएको थियो । उनीहरु तेस्रो अवतारी लामा टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको हातवाट वाङ थाप्न गुम्बासम्म आएका थिए । उनीहरुले पुर्खाहरुले बनाएको धरोहर जोगाउन पाएकोमा औधी खुसी साटासाट गर्दै थिए ।

गुम्बा निर्माणमा महत्वपुर्ण भुमिका खेल्दै आएका स्थानीय इन्द्रजित तामाङले तेमालको अर्काे ऐतिहासिक पर्यटकीय क्षेत्रको विकास भएको बताए । तेमालमा अर्काे ऐतिहासिक गुम्बा निर्माण भएको छ । यसले तामाङ सँस्कृतीको जर्गेनामा मद्धत पुग्नेछ ।

भुकम्पपछि २५ लाख खर्चिएर बनाएको गुम्बाको प्रतिष्थापन तेस्रो अवतारी लामा टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले गर्ने भएसँगै उनीहरुले भव्य तयारी गरेका थिए । तेमाल गाँउसँगै नमोबुद्धसम्म निमन्त्रणा गरिएको थियो ।

अरुको भरमा परेन र अनुदानको पछि लागेन भने साँस्कृतिक सम्पदाहरु निक्कै अघि बढ्ने उदाहरण तेमालको भज्याङ्ग गाँउले पेश गरेका छन् । सबैले सकेको रकम सहयोग गरेर सबैको आस्थाको प्रतिकको रुपमा रहेको गुम्बा र मानेको निर्माण गरेसँगै त्यसले राम्रो कामको सुरुवात भएको छ ।


तपाईको प्रतिक्रिया