बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् ।
खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् । ‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।’
हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको भन्दै उनले थपे, ‘सरकारले तत्काल यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो ।