विष्णुप्रसाद दाहाल काभ्रेमा फरक ढंङ्ग शैली र सोचवाट संचालन भैरहेको अरुणोदय अंग्रेजी आवासिय मा.वि.पनौतीका प्रिन्सिपल हुन् । २०३६ साल चैत्र २० गते मकवानपुर जिल्ला हटिया गा.वि.स. वडा नं. १, हाल हेटौंडा उपमहानगरपालिका वडा नं. १७ मा जन्मनुभएका दाहाल हाल बनेपा न.पा. वडा नं. १०, जनागालमा बसोबास गर्दै आएका छन् ।

५५ सालदेखि नि. मा.वि. शिक्षाको रुपमा शिक्षण सेवामा प्रवेश त्यस पछाडी विभिन्न विद्यालयमा अध्यापन गराउँदै हाल अरुणोदय मा.वि., पनौतीको प्रिन्सिपलको जिम्मेवारीको रुपमा काम गरिरहेका छन् । पनौतीको अरुणोदय माध्यामिक विद्यालयलाई काभ्रेको नमूना विद्यालय बनाउन योजना बनाएर काम गरिरहेका छन् ।

२० बर्षदेखि निरन्तर शिक्षाको विकासमा कृयाशिल रहेका विज्ञ टोलीहरुको मार्ग निर्देशन अनुसार विद्यालय संचालन भैरहेको छ । विद्यालयले शैक्षिक सुधारको लागि बालबालिकाको मनोविज्ञान हेरेर काम गरिरहेको बताउने दाहालले अभिभावकहरु ढुक्क भएर विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न अनुरोध गर्दछन् । उनै अरुणोदय माध्यामिक विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद दाहालसँग खबरचौतारीले गरेको कुराकानीको संम्पादित अंश :

० शिक्षा क्षेत्रमा कसरी र किन प्रवेश गर्नुभयो ?
– जब म वि.ए. प्रथम वर्षमा अध्ययन गरिरहेको थिएँ । एक दिन रेड रोज इङ्गलिस स्कूलका प्रिन्सिपलले गर्नुभएको अनुरोध स्वीकार गर्दै वि.सं. २०५५ सालमा एक निम्न माध्यमिक अंग्रेजी शिक्षकको रुपमा यस क्षेत्रमा प्रवेश गरेको हुँ । त्यो समय बोर्डिङ्गमा पढाउने शिक्षकलाई समाजले सकारात्मक दृष्टिकोणले हेर्दथ्यो र मलाई पनि सानैदेखि पढ्ने पढाउने काम साह्रै राम्रो लाग्ने भएकाले यो क्षेत्रमा प्रवेश गरेको हुँ ।

० शिक्षा क्षेत्रमा लागेर परिवार पाल्न सकिएला ?
– धेरै ठूलो महत्वकांक्षा र पैसामा मात्र सुख देख्नेहरुका लागि शिक्षा क्षेत्र सामान्य नै हो तर सादा जीवन जीउने र परिवारमा सधैं हर्ष देख्न चाहनेहरुका लागि शिक्षा क्षेत्र वास्तवमै उर्वरभूमि छ । शिक्षा क्षेत्रमा लागेर मैले मेरो परिवारका सदस्यहरुसँग समय व्यतित गर्दै उनीहरुको भविष्य निर्माणमा सहयोगी बन्दै आफ्नो परिवार राम्रैसँग चलाएको छु जस्तो लाग्छ । अनि अर्को कुरा धेरै धनले मात्र परिवार राम्रोसँग चल्ने होइन । बरु परिवारका सदस्यहरुबिच माया, प्रेम, सद्भाव र विश्वासले मात्र एउटा परिवार पूर्ण परिवार बन्दछ ।

० आगामी दिनमा कसरी शैक्षिक क्षेत्रमा अघि बढ्ने योजना बनाउनु भएको छ नि ?
– अहिलेसम्म झण्डै २० वर्षको अनुभव तथा मेरा विद्यार्थी र अभिभावकहरुले दिएको माया र प्रेरणा मेरा लागि मार्गदर्शक बनेका छन् । आगामी दिनहरुमा शिक्षण कार्यमा नविन प्रविधि र सिपको प्रयोग गर्दै विद्यार्थीहरुको सिकाई उपलब्धी उच्च बनाउने योजानाका साथ अघि बढेको छु । अहिले सबै क्षेत्रमा स्मार्टको चर्चा चलिरहेको छ । म पनि आफूलाई स्मार्ट शिक्षक कसरी बनाउन सकिन्छ भनेर लागि परेको छु । साथै अरुणोदय मा.वि.का सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई पनि स्मार्ट शिक्षक बनाउने योजनामा छु ।

० अरुणोदय मा.वि.को बारेमा केही बताइदिनुहोस् न ?
– वि.सं. २०४९ सालमा स्थानीय बृद्धिजिविहरुद्वारा स्थापित अरुणोदय अंग्रेजी मा.वि. पनौती न.पा. वडा नं. ४, काभ्रेपलाञ्चोकमा अवस्थित छ । हाल यस विद्यालय अरुणोदय एजुकेशनल फाउण्डेसन अन्तर्गत सञ्चालित छ । शान्त, मनोरम तथा शैक्षिक क्रियाकलापको लागि उपयुक्त वातावरणमा सञ्चालित यस विद्यालयले बालमैत्री कक्षाकोठा तथा पूर्वाधारमा आफ्ना शैक्षिक गतिविधिहरु व्यवस्थित रुपमा सञ्चालन गरिरहेको छ । “Endeavor for Excellence” को मूल नारा लिई सञ्चालनमा रहेको यस विद्यालय हरेक विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा पहिचान गरी विकासमा विशेष योगदान पु¥याई सक्षम जनशक्ति निर्माण गर्न सफल भएको छ । हाल यो विद्यालय पनौती क्षेत्रको एक अग्रणी पथ प्रदर्शक शैक्षिक संस्थाको रुपमा आफूलाई उभ्याउन सफल हुनुका साथै गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा चाहनेहरुका लागि उत्कृष्ट गन्तव्य बन्न सफल भएको जानकारी गराउन चाहन्छु ।

० नयाँ शैक्षिक सत्र शुरु भएको छ । अरुणोदयलाई किन रोज्नु पर्ने हो ? त्यसका खास कारणहरु के ही छन् कि ?
– साह्रै राम्रो प्रश्न गर्नुभयो, यसका लागि धन्यवाद । हरेक शैक्षिक सत्रको शुरुवातसँगै बहसमा आउने विषय हो कुन विद्यालय पढ्ने वा पढाउने ? के मैले पढेको वा रोजेको विद्यालय सहि छ त ? आदि आदि ….

विगतदेखि अरुणोदयलाई रोजिरहनु भएका तथा शैक्षिक सत्र २०७६ मा अरुणोदयमा आउने निर्णय गर्नु भएका सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरुलाई अरुणोदय अंग्रेजी मा.वि.मा हार्दिक स्वागत गर्न चाहन्छु । यसका साथै तपाईंहरुले गर्नुभएको निर्णय किन सहि र खास महत्वको छ त्यो म यहाँ बताउन चाहन्छु । सर्वप्रथम त अरुणोदय प्रत्येक व्यक्तिमा एक विशिष्ट प्रतिभा हुन्छ भन्ने विश्वास राख्दछ र उक्त प्रतिभा प्रस्फूटनको लागि Individual Care प्रदान गर्दछ । त्यस्तै लगातार उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै पनौती नगरपालिकाले नगरपालिका भित्रका विद्यालयहरुमध्ये एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई प्रदान गर्ने नगर उत्कृष्ट विद्यालय शैक्षिक सम्मान प्राप्त गर्न सफल भएको छ । अतिरिक्त क्रियाकलापमा पनि हामी अगाडिनै छौं । हाजिरी जवाफ, निबन्ध लेखन प्रतियोगिता, नृत्य, वक्तृत्वकला जस्ता प्रतियोगिताहरुमा सहभागी भई हाम्रा विद्यार्थीहरु प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्न सफल भएका छन् । हाम्रो विद्यालयले केही वर्ष अगाडि राष्ट्रपति रनिङ शिल्ड जितेर खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको प्रमाण देखाउन सफल भएको छ । हाल हाम्रो विद्यालयमा निम्न सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेका छौं ।

– विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला पुस्तकालय तथा यातायातको सुविधा
– बालबालिकाहरुको विशेष हेरविचार गरिने तथा कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षाको व्यवस्था
– श्रव्यदृश्य माध्यमबाट अध्यापन गराइने
– चार वर्षभन्दा मुनिका नानी र बाबुहरुको लागि प्लेगु्रप कक्षा सञ्चालनमा रहेको
– प्रि प्राइमरी तहमा Montessori Based Play Way Method बाट पढाइ हुने
– नृत्य तथा सङ्गीत कक्षाहरु सञ्चालन हुने लगायत विभिन्न व्यवस्थाहरु रहेका छन् ।

त्यस्तै शिक्षामा कुनै नयाँ कार्यक्रम आँउदा हाम्रै विद्यालयबाट शुरु होस् भन्ने सोच र चाहना राख्ने टिमबाट सञ्चालित भएकाले पनि अरुणोदयलाई रोज्नुहुनेले किताबी ज्ञानका साथसाथै अहिलेको युगलाई आवश्यक पर्ने व्यवाहारिक र जीवनोपयोगी शिक्षा प्राप्त गर्नुहुने भन्ने अपेक्षा गर्न सकिन्छ ।

० अरुणोदय मा.वि.ले उत्पादन गरेका विद्यार्थीहरुले हाल के गरिरहेका छन् त ?
– अरुणोदय मा.वि.ले हालसम्म उत्पादन गरेका उत्पादनहरुले राज्यका विभिन्न अंगमा दक्ष जनशक्तिको रुपमा विभिन्न ओहदामा रहेर राज्यलाई सेवा गरिरहेका छन् । कति विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गएका छन् र त्यहाँ पनि आफूलाई अब्बल सावित गर्न सफल भएका छन् । यसले हामीलाई अझ उत्साहित बनाएको छ । राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने आधारशिला तयार पार्न सहयोगी भूमिका निर्वाह गर्न पाएकोमा हामीलाई खुशी लागेको छ ।

० यस शैक्षिक सत्रमा विद्यालयले कुनै नयाँ योजना बनाएको छ ?
– अवश्य नयाँ योजना बनाएका छौं । हामीले यस शैक्षिक सत्रमा निम्न बमोजिमका योजनाहरु बनाएर अगाडि बढिरहेका छौं ।

– आजका विद्यार्थीहरुको तिब्र इच्छा र भावनालाई बुझेर विद्यालयले Robotics Nepal Association को सहकार्यमा कक्षा ४ देखि ६ सम्मका छात्रछात्राहरुलाई Electronics तथा कक्षा ७–९ सम्मका छात्र छात्राहरुलाई रोबोटिक्स कक्षाहरु सञ्चालनको तयारी गरिरहेका छौं ।
– विद्यार्थीहरुको स्मरणशक्ति विकास गरी पढाइमा ध्यान तथा रुचि बढाउन र कमजोर विद्यार्थीहरुको शैक्षिक अवस्था सुधारको लागि सबै तहमा छात्र छात्राहरु सहभागि गराई Third Eye Sensor Programme सञ्चालनको तयारी गरिरहेका छौं ।
– आफ्ना समस्याहरु आफैं पहिचान गरी समाधान गर्न सक्ने बनाउन र पढाई सँगसँगै अनुसन्धान गर्ने बानी विकास गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न Student Quality Circle Programme कक्षा ८ र ९ मा सञ्चालन गर्ने योजना बनाएका छौं ।
– ‘Education is a creation of sound mind in a sound body’ भन्ने हाम्रो ठम्याई रहेकाले विद्यार्थीहरुको शारीरिक तन्दुरुस्तिका लागि कक्षा ४ देखि ७ सम्मका छात्रछात्राहरुलाई Marshal Art (कराँते) मा सहभागी गराउने योजना बनाएका छौं ।
– विगतदेखि सञ्चालित नृत्य, संगीत तथा चित्रकलाका कक्षाहरुमा विद्यार्थीको चाहना अनुसार सहभागी गराई नियमित कक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।
– कक्षा ४ देखि १० सम्म पढाई हुने कम्प्युटर विषयको Practical कक्षाको लागि आवश्यक कम्प्युटर ल्याब निर्माण गर्ने र सबै कक्षाकोठालाई प्रविधि मैत्री बनाई स्मार्ट कक्षा सञ्चालन गर्ने योजनामा छौं ।
– प्रोजेक्टरको माध्यमबाट कक्षाहरु लिइने तथा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई Slide निर्माण गरी प्रस्तुती गर्ने अवसर प्रदान गर्न Presentation Programme सञ्चालन गर्ने योजना बनाएका छौं ।

० विद्यालयले अतिरिक्त क्रियाकलापहरु कसरी संचालन गरिहेको छ नि ?
– अतिरिक्त क्रिायकलापले नै विद्यार्थीहरुको कक्षाकोठाको थकान मेटाई पुर्नताजगि प्रदान गर्दछ । तसर्थ सबै विद्यार्थीहरुले आफ्नो रोजाईको क्रियाकलापमा विद्यालयले विद्यार्थीहरुको क्लव निर्माण गरी विद्यालयको शैक्षिक क्यालेण्डरमा रहेका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिरहेको छ भने तल्लो तहमा कक्षागत र माथिल्लो तहमा सदनगत रुपमा सञ्चालन गर्ने गरेको छ । साथै विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद सप्ताह जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा विद्यालयमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई प्रोत्साहित गरी सहभागी हुने अवसर प्रदान गरिरहेका छौं ।

० अरु विद्यालय भन्दा अरुणोदयमा के भिन्न काम गर्नु भएको छ ?
– विद्यालयका पाठ्यक्रमहरु र पाठ्यपुस्तक उस्तै भएपनि पठनपाठनको तौरतरीका अन्य विद्यालयभन्दा फरक प्रकृतिको छ । अन्य विद्यालयमा भन्दा हाम्रो विद्यालयमा शैक्षिक कार्यक्रमहरु फरक रहँने गरेका छन् ।

० फि महँगो भएको गुनासो आउने गरेको छ नि ?
– यो गुनासो हाम्रो विद्यालयमा नभई अन्य केही ठूला विद्यालयहरुको गुनासो हो कि भन्ने मलाई लाग्छ ।

० विद्यार्थीको चाहना अनुसारको शिक्षा प्रदान गर्नुभएको छ त ?
– विद्यार्थीको चाहना नै हाम्रो चाहना हो । हो पाठ्यपुस्तक पढाउनमा हामीसँग विकल्प छैन । तर प्रस्तुतिले त्यसलाई मिठास बनाउने प्रयास गरेका छौं र हाम्रा शैक्षिक गतिविधिहरुमा विद्यार्थीहरु खुशी हुँदै समाहित भएको देख्दा उनीहरुको चाहना अनुसारको शिक्षा दिएका छौं जस्तो मलाई लाग्छ ।

० अभिभावकहरुको गुनासो कत्तिको आउने गरेको छ नि ?
– अभिभावकहरुको गुनासोको तुलनामा सुझाव बढी आउने गरेको छ हाम्रो विद्यालयमा ।

० अन्त्यमा केही ?
– अन्त्यमा आफ्नो विचार राख्ने अवसर दिनुभएको हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । नजिकिँदै गरेको नववर्ष २०७६ सालको सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।


तपाईको प्रतिक्रिया