आभा निरु, सिन्धुपाल्चोक –

जीवनको अनगिन्ती सपनालाई
यी धरातलमा पछार्दै
खै ! कुन खुशीकोलागि
पराइको दिलभित्र बसाइँ सर्यो ।

तिमीलाई थाहा थियो
म धनी थिएँ, तिमीलाई दिने समर्पित मनको
मभित्र थिए प्रेमको भण्डार
जो तिमी रम्ने गरेका थियौ
खुसी साथ मेरो हरपलमा ।

तिमीले बोलेको प्रत्येक शब्दमा
म महशुस गर्थें मनले संसार जित्छ
त्यही भावमा डुबुल्की मार्दै बितेका पल भुली
कसरी तिमीले धनको दरबारभित्र
हाम्रो मनको घरबार भत्काएर प्रवेश गर्यौ ?

तिम्रो जीवनको आस थियो
हामीभित्र दुबैको एक सास थियो
मेरो आवाजविहिन यात्रामा
निसासिने तिमी खै ! कसरी बाँच्न सकिरहेका छौ

विश्वासको खातामा तिमीले लगाएको तालाबन्दिले
जीवनको पानालाई रङ्ग्याउन नपाउँदै
तिमी कसरी सजियौ पराइको जीवनमा

मेरो मस्तिष्कमा गरिबीको पगरी भिराएर,
कल्पनाको समुन्द्रमा डुबाएर
तिमी क्षितिज पारी धनको महलभित्र रमिदिँदा,
म भित्रभित्रै निसासिएर फेरिरहेछु स्वास

तिम्रो बोली सुन्न तड्पिएको मन
तिमीले प्रेम गरि छोडेको जीवनको
तिमीले सजाएको अधुरो सपनालाई
गरिबिलाई छिचोल्न नसक्दै ,
तिमिले त्यागेको दिनबाट
धन र मनको असमानता नबुझ्दै,
प्रश्नको लहर लिएर दोधारमा बाँचिरहेछु ।


तपाईको प्रतिक्रिया