काठमाडौं – हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका विभिन्न २२ बुँदे मागसहित जनसंघर्षको कार्यक्रममा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमाथि प्रहरीले लाठी प्रहार गरेको छ । राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा रत्नपार्कबाट सुरु भएको प्रदर्शन प्रदर्शनीमार्गस्थित पद्मोदय मोडमा पुगेर मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गर्ने तयारीसहित निस्किएको थियो । सोही क्रममा पद्मोदय मोड पुगेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार प्रहरीको लाठी प्रहारबाट ३९ जना नेता कार्यकर्ता घाइते भएका छन् । उनीहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठका अनुसार लाठी प्रहारमा परी राप्रपा पूर्व उपाध्यक्ष एवं पूर्व गृहमन्त्री निरन्जन थापा, नेता भरतबहादुर रायमाझी, प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह सहित ३९ जना घाइते भएका हुन् । सो क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका अध्यक्ष कमल थापालाई भने प्रहरीले थापा सवार ट्रक नै नियन्त्रणमा लिएर नेपाल पुलिस क्ल्बतर्फ लगेको थियो । तर प्रदर्शनकारी समेतसँगै गएपछि प्रहरीले केही पर लगेर अध्यक्ष थापालाई छाडेको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरुलाई जनताको माझ लैजान संघर्षका कार्यक्रम गर्दै आएको छ । राप्रपाले शान्तिपूर्ण प्रदर्शन तथा धर्ना कार्यक्रममा भएको प्रशासनिक दमनको घोर भत्सर्ना समेत गरेको छ । ‘शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेपले निर्वाध राजनीतिक परिचालन गर्ने मौलिक हक र अधिकार कुण्ठित गरेको छ, जनसंघर्ष अन्तर्गत पूर्व घोषित आगामी कार्यक्रमहरुको स्वतन्त्र अनुगमन र पर्यवेक्षणका लागि मानवअधिकारवादी संघ, संस्था, नागरिक समाज, राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चारमाध्यमको राप्रपा ध्यान आकर्षित गर्दछ ।’ आफ्ना नेता कार्यकर्ता माथी प्रहरी दमनपछि राप्रपाले जारी गरेको विज्ञप्तीमा भनेको छ ।

उसले पूर्व निर्धारित कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर प्रदर्शन गरिएको र सरकारको तर्फबाट भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको समेत बताएको छ । राप्रपाले संघर्षको कार्यक्रम अन्तर्गत नै गत ७ फागुनमा प्रधानमन्त्री केपी ओली सहित सबै प्रदेशमा मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ । राप्रपाले वार्ता र सहमतिका आधारमा समस्याको निकास खोज्नुको सट्टा दमन र हस्तक्षेप गरेर परिस्थितिलाई उत्तेजित बनाउनु उपयुक्त नहुने आफ्नो धारणा रहेको र सरकारले वार्ताको वातावरण बनाएमा वार्ताको माध्यमबाट निकास सम्भव हुने समेत बताएको छ ।

राप्रपाले सोमबार काठमाडौंमा सिंहदरबार अगाडि, ७ वटै प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम तय गरेको थियो ।
राप्रपाले जनसंघर्ष अन्तर्गत नै २८ चैतमा सबै स्थानीय तहमा १ घण्टा धर्ना दिने, ५ वैशाखमा धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, ८ बैशाखमा राजमार्ग र चोकहरुमा हुने सत्याग्रहलाई थप प्रभावकारी बनाउने कार्यक्रम समेत तय गरिसकेको छ । राप्रपाले गत ७ फागुनबाटै प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि दबाव दिन १५ दिने मेची—महाकाली अभियान समेत संचालन गरिसकेको छ । पूर्वको ताप्लेजुङबाट सुरु भएको अभियान पश्चिमको महेन्द्रनगर हुँदै राजधानी आएर समापन गरिएको थियो ।


तपाईको प्रतिक्रिया