भक्तपुर – मदरल्याण्ड इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कूल भक्तपुरको १९ औं वार्षिकोत्सवको अवसरमा नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष एवं राष्ट्रिय संगीतकर्मी संघ काभे्रका अध्यक्ष कलाकार, निर्देशक अमरकृष्ण चन्द सम्मानित भएका छन् ।

सूर्यविनायक नगरपालिका ९ भाते ढिकुर भक्तपुरमा अवस्थित मदरल्याण्ड स्कूलको १९ औं वार्षिकोत्सवमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चन्दलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले सम्मान गरेका हुन् । सो कार्यक्रममा चन्दका साथै तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो ।

नेपाली कला, साहित्यमा योगदान पु¥याए बापत चन्दलाई र खेल क्षेत्रमा योगदान पु¥याए बापत बस्नेतलाई सम्मान गरिएको थियो । सोहि अवसरमा हालै भारतको चेन्नइमा सम्पन्न अन्तराष्ट्रिय आइटिएफ प्रतियोगितामा स्वर्ण पदक जिती देशको नाम राख्न सफल विद्यार्थीहरु सुरक्षा थापा, सोनिसा त्यातः, अमृत माझी र अस्मिता पुन मगरलाई समेत विद्यालयले सम्मान गरेको थियो । यस्तै कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षकको रुपमा शिक्षिका सबिना श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख प्रमुख अतिथि बस्नेतले निजी विद्यालयहरुले नेपालको शिक्षा क्षेत्रमा निकै ठूलो योगदान पु¥याएका बताउँदै नेपालको शिक्षाको गुणस्तरमा सुधार हुँदै जानुमा निजी विद्यालयको उत्तिकै भूमिका रहेको बताए । बस्नेतले भक्तपुर पर्यटन हबको रुपमा विकास हुन थालेको बताउँदै भक्तपुरलाई पर्यटन हबको रुपमा विकास गर्न पूर्वाधारहरु तयार गर्दै गएको बताए ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, सूर्यविनायक नगरको सामाजिक विकास समिति संयोजक तथा सूर्यविनायक ८ का वडाध्यक्ष किरण थापा, सूर्यविनायक ९ का वडाध्यक्ष उपेन्द्रराज केसी, एनप्याब्सन भक्तपुरका अध्यक्ष जिबी खड्का, शिक्षाविद पदमनाथ तिवारी, गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई लगायतले मदरल्याण्ड स्कूलले शिक्षाक्षेत्रमा पुयाएको योगदानको चर्चा गरेका थिए ।

प्रमुख अतिथि बस्नेतले विरुवामा जल अर्पण गरी उद्घाटन गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयका गतिविधि बारे प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध विधामा उत्कृष्ट विद्यार्थी तथा प्रिन्सीपल संजय खड्का, व्यस्थापन प्रमुख शर्मिला देउजा, सहायक प्रिन्सिपल राधेश्याम केसी, लेखापाल सबिना केसी, स्रोत परिचालन विभाग प्रमुख राधेश्याम कासुला, स्कूल संयोजक पञ्चरेखा प्रजापति, कार्यक्रम निर्देशक विष्णु दुवाल लगायत शिक्षक तथा कर्मचारीहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विविध संस्कृति झल्कने नृत्य, गीत, खेल कौशल प्रस्तुत गरेका थिए ।


तपाईको प्रतिक्रिया