सप्तरी – एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा पक्राउ परेका एक शिक्षक र दुई जना प्रहरी सहित ६ जनालाई आज सार्वजनिक गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यरो सीआईबीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो ।

सीआईबीले गरेको अनुसन्धानमा सप्तरीका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरइत र दीपेन्द्र कुमार मण्डलले प्रश्नपत्र बाहिर ल्याउन भूमिका खेलेको पाइएको छ । आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र कुमार प्रहरी जवान भएको भएको प्रहरीले बताएको छ ।

चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश २ को एसईईका सम्पूर्ण परीक्षा रद्द गरिएको थियो । रद्ध गरिएका परिक्षाहरु भोलिबाट सुरु हुँदैछन् ।


तपाईको प्रतिक्रिया