साँखु – निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् ।

बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो । त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन् । बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन । यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उहाँ व्यस्त देखिनुहुन्थ्यो ।

सिटी फुक्दै अटेर गरेर बस्ने ठूला बसलाई धपाउँदैमा दाहाल चर्का स्वरमा जान आग्रह गर्नुहुन्थ्यो तर कतिले अटेर गर्थे भने कति सजिलै बाटो लाग्थे । दाहाल भन्नुहुन्छ, “सडक निर्माणका लागि ल्याएको गिट्टी सडकको बीच भागमा राखेकाले सवारी जाम हुने गरेको छ । जामलाई हटाउन सिटी बजाउनुपर्ने हुन्छ, हरेकपटक सिटी बजाउन ‘मास्क’ खोल्नुपर्दा धुलोधुवाँबाट समेत बच्न सकिँदैन ।”

दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्रे भएको छ । बाँकी पुरै सडक कच्ची छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्नुहुन्छ, “बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौँ । एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदा कराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जी लगायत फोक्सो सम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनु परेको छ ।”


तपाईको प्रतिक्रिया