ललितपुर – नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने धानमा रोक लगाउन चैतेधान उत्पादनमा थप जोड दिनुपर्ने सुझाव दिइएको छ । यस मौसममा बर्खाभन्दा चर्काे घाम लाग्ने हुँदा असारको तुलनामा धेरै धान उत्पादन हुने भएकाले यसै महिनामा धान लगाउन कृषि विज्ञले सुझाव दिएका हुन् ।

चैत दिन लामो र रात छोटो हुने तथा घाम बढी समयसम्म लाग्ने महिना पनि हो । यो प्रायःआकाशमा बादल नलाग्ने बेला हो । सूर्यको ताप बढी हुने र सूर्यको किरणबाट आएको शक्ति हरितकणमार्फत बालीले तान्ने समय भएकाले असारको तुलनामा चैतमा बढी धान उत्पादन हुने नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बतानुभयो । “आकाशमा कम बादल लाग्ने र बढी सुख्खा हुने समय भएकाले यस समयको धान उत्पादनमा खासै रोगले आक्रमण गर्न सक्दैन”, उप्रेतीले भन्नुभयो, “सरकारले चलाएको ‘बृहतर धान उत्पादन कार्यक्रम’अन्तर्गत यस उत्पादनमा खासै किसानले ध्यान नदिएको देखिन्छ ।”

“ललितपुर जिल्लाका एक प्रतिशत किसानले पनि चैतेधान उत्पादनमा ध्यान दिएका छैनन् । प्रचारप्रसारको कमी भएर हो या चिसो स्थान भएर हो अथवा पाक्न ढिला हुने भएकाले होला वा सरकारी तवरबाट किसानलाई चैतेधान उत्पादनमा खासै प्रेरणाका काम नभएर पनि होला यसतर्फ कसैले पनि ध्यान दिएको देखिँदैन”, कृषि ज्ञान केन्द्र ललितपुरका कृषि प्रसार अधिकृत बुद्धिबहादुर श्रेष्ठले बताउनुभयो । “ विसं २०७२ ÷०७३ को तथ्याङ्कानुसार ललितपुरमा धान उत्पादन हुने कूल सिँचित क्षेत्रफल दुई हजार ८०८ हेक्टर, धान उत्पादन १४ हजार ३ सय २१ मेट्रिकटन र उत्पादकत्व ५.१ प्रति हेक्टर रहेको छ ”, श्रेष्ठले भन्नुभयो, “यसैगरी असिँचित वा आकाशे पानीको भरमा धान उत्पादन गरिने क्षेत्र एक हजार ८८२ हेक्टर, धान उत्पादन पाँच हजार ८०३ मेट्रिकटन र उत्पादकत्व ३.१ मेट्रिकटन प्रतिहेक्टर रहेको छ ।”

यति धेरै उत्पादकत्व हुने यस क्षेत्रमा सरकारले ल्याएको धान उत्पादन कार्यक्रममार्फत चैते धान उत्पादन गर्न किन अग्रसर भएनन् भन्ने जिज्ञासा ज्ञान केन्द्रका विज्ञमा परेको छ । नेपालका हरेक किसानलाई प्रतिपाँच टन माथि धान उत्पादन गरेवापत प्रतिव्यक्ति रु पाँच हजार सरकारले दिने भनिए तापनि कसैले यस काममा किन कदम बढाएका छैनन् भन्ने प्रश्न विज्ञले गरेका छन् । नेपालमा विशेष गरी मानो रोपेर मुरी फलाउने समय भनेकै चैत र असार हो । यो धान एक सय २० दिनमा पाक्छ । सरकारले जो किसानले यस समयमा रोपेको धान पाँच टनभन्दा बढी उत्पादन गर्छन् उनीहरुलाई थप रु पाँच हजार सहयोग गर्ने निर्णय गरेको छ । सरकारले किसानलाई धान उत्पादनमा अग्रसरता गराउन केही रकमको व्यवस्था गरे तापनि समयमा सही कार्यान्वयन हुन नसकेकाले नेपालका केवल ७ देखि ९ प्रतिशत जमीनमा मात्रै यो धान उत्पादन हुने गर्छ । “नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तराईदेखि पहाडी क्षेत्रका सात सय मिटरभन्दा तलको सिँचित भूमिहरुमा यो धान रोप्न सकिन्छ”, उप्रेतीले थप्नुभयो ।

हाल चैतको मध्यमा तराईका तल्लो क्षेत्रमा किसानले धानको बीउ राखिसकेका छन् । केही स्थानमा धमाधम बीउ राख्ने काम अघि बढेको छ । बीउ उम्रिसकेको स्थानमा केही दिनपछि रोप्ने काम शुरु हुन्छ भने राख्दै गरेका स्थानमा चैतको अन्तिमदेखि वैशाखको पहिलो हप्ता रोप्ने काम शुरु हुन्छ । विशेष गरी यो धान पहाडको खोंच वा बेंसी जहाँ पर्याप्त मात्रामा सिँचाइ हुन्छ त्यहाँ लगाउने गरिन्छ । चैतमा तापक्रम बढेसँगै बालीमा बढी कीरा लाग्ने अनुमान कृषिका वैज्ञानिकले प्रमाणित गरिसकेका छन् । किसानले समय समयमा यो धान बालीको अवलोकन गरिरहनुपर्ने हुन्छ ।

यस वर्ष नार्कले चैतमा किसानलाई ‘चैते ५’ नामक धान लगाउन आग्रह गरिसकेको छ । यो धानको गेडा मसिनो, धेरै फल्ने र कम रोग र कीरा लाग्ने भनी नार्कले प्रमाणित गरिसकेको छ । यसैगरी नार्कले विकल्पका रुपमा मोटो गेडा हुने र कम रोगकीरा लाग्ने ‘चैते ४’ का साथै मसिनो गेडा हुने रोगकीरा नियन्त्रण गर्ने सक्ने क्षमता भएको ‘हर्दिनाथ ३’ लाई पनि जोड दिएको छ । चैते धान समयमै रोपी मलखाद र पानीको सही व्यवस्थापन गर्दा त्यसबाट बढीभन्दा बढी उत्पादन लिन सकिन्छ । विशेष गरी चैते धान भित्र्याउँदा पानी पर्ने, किसान बेफुर्सदिला हुने, पानी परिरहने भएकाले धान रामोसँग सुकाउन नपाउने, सही बजार व्यवस्थापन पनि नहुने समस्याका कारण यस समयमा किसान धान रोप्न त्यति जाँगर लाउँनन् । सबै क्षेत्रका सिँचाइ सुविधा भएका किसाले यो धान उत्पादनमा जोड दिने हो भने बाहिरी मुलुकबाट आयात गर्नु पर्ने बाध्यतामा निकै कमी हुन्थ्यो भन्ने भन्ने जानकार बताउँछन् ।

सरकारले हरेक स्थानमा यो धान लगाउँदा ‘चकलाबन्दी नीति’ अनुसार अघि बढ्नुपर्छ भन्ने हो भने कयौँ किसानले बाली लगाउँदा खर्च हुने नाफा घाटाको पर्वाह नगरी यसमा जोड दिन सक्ने कृषि प्रसार अधिकृत श्रेष्ठ बताउनुहुन्छ । सरकारले चैत मौसमलाई विचार गरी धान सुकाउने प्रविधिको व्यवस्थापन गरिदिँदा केही हदसम्म उत्पादनमा जोड पुग्ने जानकारको बुझाइ छ । जेठको अन्तिम वा असार मध्यमा काटिने उक्त धान सुकाउनका लागि विशेषतः नेपालमा ड्राइङ मेसिन अर्थात् ड्राइङ हाउस(धान सुकाउने घर)को व्यवस्था हुनुपर्छ । नेपालका केही स्थानमा चकलाबन्दी खेती गरिए तापनि त्यहाँ सरकारले सुकाउने सुविधा दिन हालसम्म सकेको छैन । यदि सुकाउने सुविधा दिने हो भने विभिन्न स्थानका किसान चैते उत्पादनमा आकर्षित भई बाहिरी आयातलाई आधा आधी घटाउने जनाइएको छ ।

नार्कसँग अन्न सुकाउने प्लाष्टिकको सोलार ड्रायर र ग्लास सोलार ड्रायर दुवै व्यवस्था भएता पनि यसको प्रयोगबारे ललितपुरका कमै किसानमा जानकारी छ । किसानलाई यदि यी दुवै ड्रायरको महत्वबारे जानकारी हुने हो त कैयौँको अन्न त्यसै घुनकीरा लागेर कुहिएर खेर जाने अवस्थामा जाँदैन । नेपालमा अन्न सुकाउने प्रविधि भित्रिसके तापनि यसबारै थोरै किसानलाई मात्र जानकारी छ । एउटा किसानले एक हेक्टर जमीनमा पाँच टन धान फलाउन सक्छन् । चैतमा लगाइएको धानबाट धेरै किसिमले अन्न उत्पादन गर्ने भए तापनि यसमा केही बेफाइदा भने छन् । यस समयमा गर्मी बढी भएर कीराको सङ्क्रमण बढ्ने चुनौती बढी छ । चैते धान असारमा भित्र्याउन किसानलाई भ्याई नभ्याई हुने भई आवश्यक समय सुकाई पकाई गर्न नपाउँदा बीउका रुपमा प्रयोग गर्न भने मिल्दै नमिल्ने विज्ञले सुझाव दिएका छन् ।


तपाईको प्रतिक्रिया