तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले दमौलीमा सञ्चालित होटलमा खानेकुरा पकाउन प्रयोग गरिने तेलको गुणस्तर परीक्षण गरेको छ । खाद्यप्रविधि तथा गुणनियन्त्रण विभाग बबरमहल काठमाडौँको समन्वयमा होटलमा प्रयोग हुने तेलको गुणस्तर परीक्षण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा ब्यास नगरपालिका–२ को सन्तोष होटल, ब्यास नगरपालिका–३ को सुरेश मिष्ठान्न भण्डार, ओम खाजा घर, ब्यास नगरपालिका–४ को हरि मिष्ठान्न भण्डार, ब्यास नगरपालिका–५ को माउण्टेन भ्यु रिसोर्टको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा केही होटलमा खानेकुरा प्रयोग गरिने तेलको गुणस्तर कमजोर भेटिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तेलको गुणस्तरमापन गर्ने यन्त्रमा २० भन्दा कम सङ्केत (हरियो) देखाएमा तेल खानयोग्य हुनेछ । उहाँका अनुसार उक्त यन्त्रमा २१ देखि २४ सम्म (पहेंलो) देखाएमा जोखिम र त्यो भन्दामाथि देखाएमा खान अयोग्य हुन्छ । सुवेदीका अनुसार एक पटक प्रयोग गरेको तेल पुनःअर्को पटक प्रयोग गर्न हुँदैन ।


तपाईको प्रतिक्रिया