देवघाट – देवघाटमा सीसी क्यामरा जडान गरिएको छ । देवघाट क्षेत्र विकास समितिले मुख्य स्थानमा सीसी क्यामरा जडान गरेको हो । समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुख्य स्थानमा १६ वटा सिसी क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा समितिको कार्यालय, समितिले सञ्चालन गर्दै आएको वृद्धाश्रम लगायतका स्थानमा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सबै क्यामेरा भरतपुरका युवा व्यवसायी सुजन ओझाले सहयोग गर्नुभएको हो । सिसी क्यामरा खरीद र जडानका लागि ओझाले रु दुई लाख ५० हजार खर्च गरेको घिमिरेले जानकारी दिनुभयो ।

पूर्वीय संस्कृतिको अध्ययन केन्द्र र विश्वकै हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटमा दैनिक सयौं भक्तजन आउने भएकाले सुरक्षाको लागि सिसी क्यामेरा जडान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । समितिका अनुसार निकट भविष्यमै देवघाट प्रवेश गर्ने चितवन र तनहँु जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुलको दुवै तर्फ, चितवन तर्फको बसपार्क, दाहसंस्कार गर्ने स्थान तथा अन्य स्थानमा समेत सिसी क्यामरा जडान गरिनेछ ।

क्यामेरा जडान गरेपछि समयमा कर्मचारी आउने, वृद्धाश्रममा बस्ने वृद्धवृद्धाको सामग्री सुरक्षा हुने, आउने अतिथिले दिने सामग्रीको अभिलेख राख्न सहज भएको घिमिरेले जानकारी दिनुभयो । समितिले देवघाटको मुख्य स्थानमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म प्रहरी परिचालनसमेत गरेको छ । घिमिरेले भन्नुभयो, “रातिको समयमा हुने असुरक्षालाई ध्यान दिएर यस्तो निर्णय गरिएको हो ।”


तपाईको प्रतिक्रिया