काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकास र समृद्धिमा सरकार गम्भीर भएर अघि बढेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको मुख्य प्राथमिकता मुलुकको समृद्धि र बिकास भएकाले यसप्रति सरकार गम्भीर भएर अघि बढेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा सन्तुलित विकासको अवधारणा सहितको बजेट निर्माण गर्ने बताउनुभयो । उहाले आगामी बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी सांसद् जनार्दन शर्माले जानकारी दिनुभयो ।

छलफलका क्रममा सांसदहरुले नीति तथा योजना र बजेट बनाउँदा कर्णालीलाई प्राथमिकता नदिइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । कर्णालीका १६ जना सांसद सहभागी कार्यक्रममा सांसदहरुले कर्णालीको वर्तमान अवस्था प्रधानमन्त्री समक्ष राखेका थिए । विकास निर्माणमा सरकारको ध्यान नपुगेको, जीवनस्तर उकास्ने बारे खासै कार्यक्रम लागू नभएको र शिक्षा, स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान नपुगेको बिषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सांसद शर्माले जानकारी दिनुभयो ।

छलफलका क्रममा सांसदहरुले सडक पूर्वाधारमा कर्णाली करिडोर, भेरी कोरिडेर, मदन भण्डारी पूर्वपश्चिम राजमार्ग, राप्ती लोकमार्गलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले  कर्णाली प्रदेशमा दुई ठूलो विमानस्थल बनाउन समेत माग गरेका छन् । पूर्वाधार र शिक्षाको विकासका लागि कर्णालीमा वैकल्पिक सोच जरुरी रहेको पनि उनीहरुले बताएका छन् । जेठसम्म हिउँ रहने ठाउँमा असारमा फ्रिज हुने बजेटले विकास नहुने आफूले बताएको शर्माले बताउनुभयो ।


तपाईको प्रतिक्रिया