बनेपा – काभ्रेको मण्डनदेउपुर, धुलिखेल र पनौती नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सोमवार काभ्रेमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकावाट स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात भएको हो ।

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको स्वाथ्य विमा कार्यक्रम काभ्रेको मण्डनदेउपुर नगरपालिकावाट सुुरु गरेको हो । आगामी चैत्र १० भित्र काभ्रेका कम्तिमा १० ओटा स्थानीय तहमा यो कार्यक्रमको सुरुवात हुनेछ । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा मेयर टोकबहादुर वाइवाले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेका छन् । चाखोला उपजधाराको सभाहलमा भएको कार्यक्रममा बोल्दै मेयर वाइवाले सबै नागरिकलाई स्वास्थ्यको पँहुच बढाउन र उनीहरुको उपचारमा लाग्ने खर्चको सही रुपमा व्यवस्थापन गर्नको लागि सुरुदेखिनै आफूले यो बिमाको चासो राखेको बताए । ‘मैले सुरुमै स्वास्थ्य शाखालाई बिमा कार्यक्रमको जानकारी लिन भनेको थिए,आजवाट आफ्नो नगरमा सुरुभयो’ मेयर वाइवाले भने ।

उनले अब सबै नागरिकलाई बिमाको सुविधा पु¥याउने लक्ष्य नगरले लिएको बताए । हामीले तिर्न सक्ने नागरिकलाई बिमा गर्न अनुरोध गर्दछौ भने पैसा तिर्न नसक्ने अवस्थाका नागरिकका लागि समेत नगरले अनुदानको व्यवस्था गरेर भएपनि सबै नागरिकको पँहुचमा स्वास्थ्य बिमा गराउने छौ मेयर वाइवाले भने । मण्डनदेउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले मण्डनदेउपुरमा सुरु भएको बिमा कार्यक्रमवाट धेरै नागरिकले सेवा लिने बताए । हामी सबैको प्रयास भनेको स्वास्थ्यमा नागरिकको पँहुच विस्तार गराउने हो उनले भने ।

स्वास्थ्य शाखाका प्रमुख दीपक घिमिरेले अब स्वास्थ्य स्वयसेविका मार्फत समेत यस्तो खालको कार्यक्रमको प्रसार गरिने बताएका छन् । पहिलो चरणमा नगरका प्रमुख,उपप्रमुख, प्रशासकीय अधिकृतसँगै हेल्थ पोष्टका प्रमुखहरुसँग अन्तरकृया गरेका छौ अब सबैलाई यो कार्यक्रमको जानकारी गराउने छौ घिमिरेले भने । कार्यक्रममा वडाध्यक्षहरुको समेत उपस्थिती थियो । पनौती नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । आफ्ना नागरिकहरुको स्वास्थ्यको उपचार गराउने बिमाको सुरुवात गरेकोमा नगरका मेयर भिम न्यौपानेले कार्यक्रमको स्वागत गरेका छन् । उनले भने, हामी सबै नागरिकको बिमा गराउने काम लागि सकेका छौ ।

त्यस्तै, धुलिखेल न.पा.मा समेत स्वास्थ्य बिमा सुरुवात भएको । नगर प्रमुख अशोक ब्याञ्जुले स्वास्थ्य बीमा कार्यक्रमले सबै नागरिकहरुका लागि उपचारमा पहुँच पुर्याए पनि गरिव, अल्पसंख्यक, सिमान्तकृत, अपांङ्ग र एकल महिला भई आय स्तर नभएका ब्यक्तिहरुको हकमा बार्षिक तिर्नु पर्ने प्रिमियम रकम समेत तिर्न नसक्ने अवस्था रहेकाले नगरपालिकाले त्यस्ता ब्यक्तिहरुलाई सहयोग गर्नु पर्ने बताए ।

बीमा कार्यक्रमले प्रति परिवार ५ जना सदस्यहरुसम्म बार्षिक २ हजार ५ सय प्रिमियम तिर्नु पर्नेछ । पाँच भन्दा धेरै सदस्य भए प्रति सदस्य ४ सय २५ रुपैया थप गर्नु पर्ने छ । २ हजार ५ सय रुपैया तिरे पछि बार्षिक ५० हजार रुपैयाको बीमा हुनेछ । पाँच जना बराबर एक जनाले ५० हजार रुपैयाको सेवा लिएको अवस्थामा अन्यले सेवा प्राप्त गर्न सक्दैनन । सेवा प्राप्त गर्न अर्काे वर्षको नविकरण गर्नु पर्छ । पाँच भन्दा बढी सदस्यको हकमा प्रति ब्यक्ति १ हजार रुपैया थप गर्नु पर्नेछ ।

बीमामा बहिरंग तथा आकस्मिक सेवा, अन्तरंग सेवा, निदनात्मक सेवामा १ हजार १ सय १८ थरी औषधी प्राप्त गर्नेछन् । सरकारले यस अघि ७० वटा औषधी निशुल्क वितरण गर्दै आएको छ भने २५ वटा आर्युवेदिक औषधी निशुल्क उपलब्ध गराउँदै आएको छ । सबै उमेर समुहका ब्यक्तिहरुले यो बीमा कार्यक्रम लागु हुनेछ । सरकारले स्वास्थ्य बीमाका शुरुवात गरेका २५ जिल्लाका गरिव परिचय प्राप्त गरेका ब्यक्तिहरुले बीमाका लागि रकम तिर्नु पर्दैन ।

स्थानीय तहमा दर्ता सहयोगीका माध्यमबाट बीमाको फाराम भर्न सकिनेछ । बैशाख देखि असारसम्म फाराम भर्नेहरुले भदौ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् भने साउन देखि असोजसम्म फाराम भर्नेहरुले मसिर १ गते देखि सुविधा पाउनेछन् । त्यस्तै माघ देखि चैत्रसम्म फाराम भर्नेहरुले जेष्ठ १ गते देखि सेवा उपभोग गर्न पाउनेछन् । ४८ जिल्लामा लागु भएको कार्यक्रम काभ्रेमा पहिलो पटक धुलिखेलबाट शुरु भएको हो । बीमा गराउने स्वंसेवकहरुले वडागत रुपमा जम्मा घर धुरीको ५० प्रतिशतमा १० प्रतिशत, ८० प्रतिशतसम्म १५ र ८० प्रतिशत माथी गराउनेले २० प्रतिशत कमिसन प्राप्त गर्नेछ ।

नगर तथा गाउँमा प्रमुख र वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा समिति गठन हुनेछ । काभ्रेपलाञ्चोक जिल्लाको हकमा बीमा गरेका नागरिकहरुले धुलिखेल सामुदायिक अस्पतालबाट सेवा प्राप्त गर्नेछन् ।


तपाईको प्रतिक्रिया