कास्की – कास्की जिल्लाको रुपा गाउँपालिका–६ मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने भएको छ । भलिबलका वर्तमान राष्ट्रिय टिम क्याप्टेन इमबहादुर रानामगरलाई भलिबलका क्षेत्रमा यस अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गरेको यस खेल मैदानको स्तरोन्नतिका लागि रुपा गाउँपालिकाले रु पाँच लाख छुट्याएको छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेलको माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय स्थापनाका लागि समन्वय समितिको कोषबाट रु चार करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाका एक वडा एक खेलमैदान निर्माण कार्य तीव्ररुपमा भइरहेको उल्लेख गर्दै खेलमैदान निर्माण गर्न रु ३५ लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

खेल मैदान उपभोक्ता समितिका अध्यक्ष सन्दिप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवं लोकप्रिय खेल भलिबल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औंल्याउनुभयो । गाउँपालिकाका केन्द्रमा रहेको सो भलिबल खेल मैदान फराकिलो बनाउने कार्य भइरहेको सिद्धार्थ क्लबका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया