पोखरा – पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो ।

प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उहाँले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टाचारलाई कम गर्ने उल्लेख गर्नुभयो ।

नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई कागजरहीत बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरणमार्फत व्यवस्थित गरिने जानकारी दिनुभयो ।

महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर पूर्णबहादुर गुरुङले एक हजार वर्गफिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउनुभयो । काठमाडौँको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सापासका अभिलेखलाई व्यवस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।


तपाईको प्रतिक्रिया