बनेपा – संञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रे महोत्सवमा घोषणा गरेका थिए,काभ्रेको आईटी पार्कमा सुरक्षण प्रेसको स्थापना हुनेछ । मन्त्री बाँस्कोटाले घोषणा गरेको कुरा पछिल्लो समय पुराहुँदै गएको छ । काभ्रेको आईटी पार्कमा अबको केही महिनामै सुविधासम्पन्न सुरक्षण प्रेसको स्थापना हुने भएको छ । प्रेस स्थापनाको प्राविधीक तथा आर्थिक सहयोग भने फ्रान्स सरकारले गर्ने भएको छ ।

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा सुरक्षण प्रेस तथा नेपालको आफ्नै स्याटलाईटको बिषयलाई समावेश गरेको थियो । त्यसका लागि आवश्यक रहेको बजेट समेत सरकारले विनियोजन गरेको थियो । संञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाकोे फ्रान्स भ्रमणको क्रममा नेपालमा सुरक्षण मुद्रण स्थापना गर्ने सहमती भएसँगै काभ्रेको आईटी पार्कमा प्रेस स्थापना हुने भएको हो । प्रेसका लागि फ्रान्स सरकारले सहुलियतपूर्ण आर्थिक सहयोग सहित प्राविधि सहयोग गर्ने भएको संञ्चार तथा सूचना प्रविधी मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले हालै गरेको फ्रान्सको औपचारिक भ्रमण निक्कै उपलब्धीमूलक रहेको देखिएको छ । नेपालका लागि आवश्यक रहेको सुरक्षण मुद्रण स्थापना भएसँगै त्यसले नेपालले विदेशमा लागेर छाप्ने महत्वपुर्ण कागजपत्र नेपालमै छाप्न सकिने अवस्था सृजना हुनेछ । भम्रणको क्रममा दुई देश बीच नेपालमा सुरक्षण मुद्रण स्थापना र आफ्नै स्याटलाईट सञ्चालन गर्नका लागि प्राविधिकलगायतको सहयोग उपलब्ध गराउने बारे मन्त्रीस्तरीय आशयपत्रमा हस्ताक्षर भएको हो ।

फ्रान्सको औपचारिक भ्रमण गरी अघिल्लो शनिवार स्वदेश फर्किएका सञ्चार तथा सूचनामन्त्री बाँस्कोटाले नेपाल सरकारको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको इनग्रुप बीच सुरक्षण मुद्रण स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । सुरक्षण मुद्रणको काम तीन वर्षभित्र र स्याटलाइट सम्बन्धि काम ३० महिनाभित्र सम्पन्न गर्ने समयसीमा तोकिएको छ । दुवै समझदारीपत्रमा कम्तिमा तीन महिनाभित्र परियोजना सम्झौता करार गरी काम सुरु गर्ने उल्लेख छ ।

फागुन १० गते मन्त्रीस्तरिय निर्णयवाट काभ्रेको आइटीपार्कमा सुरक्षण मुद्रणको स्थापना गर्ने निर्णय गरेर फ्रान्स भ्रमणमा गएका थिए । सुरक्षण मुद्रण केन्द्र स्थापना भएसँगै पैसा, पासपोर्ट, राजस्व स्टिकर, हुलाक टिकटजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सकिने छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनीको प्रविधि र फ्रान्स सरकारको सहुलियतपूर्ण ऋणमा सुरक्षण मुद्रण स्थापना गरिने बताए । सुरक्षण मुद्रण स्थापनाको काम तीन चरणमा हुनेछ । पहिलो चरणमा राहदानी, चेक, लालपुर्जाजस्ता कागजमा छापिने सामग्री छपाइका लागि पूर्वाधार तयार पार्ने, दोस्रो चरणमा कार्डमा छापिने लाइसेन्स, राष्ट्रिय परिचयपत्र छाप्ने पूर्वाधारको स्थापना र तेस्रो चरणमा नोट छाप्ने पूर्वाधार स्थापना हुनेछ । यी तीनै चरणको काम तीन वर्षभित्र सक्ने लक्ष्य तय गरिएको छ । सुरक्षण मुद्रण स्थापनाका लागि कार्यदल बनाएर तीन महिनाभित्र सम्झौता गरिने मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।

देशका संवेदनशील वस्तुहरू छाप्ने प्रेसलाई सेक्युरिटी प्रेस भन्ने गरिन्छ । पूर्णतः सरकारी नियन्त्रण र निगरानीमा रहने यस्ता प्रेसले विशेषगरी नोट, राहदानी (पासपोर्ट), राजस्व स्टिकर, चेक, एटीएम कार्ड, स्मार्टकार्डजस्ता संवेदनशील मानिएका छपाइ गछर्न । मन्त्री बाँस्कोटाले फागुन १९ देखि २४ गतेसम्म फ्रान्सको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापनाका लागि फ्रान्सको अर्को कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । स्याटेलाइट स्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण र फ्रान्सको थेल्स एलेनिया स्पेसबीच समझदारी भएको हो । सुरक्षण मुद्रण र स्याटेलाइट स्थापनाको दुवै परियोजना तीन महिनाभित्र सम्झौता गरी कार्यान्वयन चरणमा लैजाने समझदारीमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया