काभ्रेपलान्चोक (धुलिखेल) – करिब ४५ लाख रुपैयाभन्दा धेरै खर्च । ए डिभिजन क्लबको सहभागिता अनि काभ्रेको पनि सहभागिता । अब चैत्र ७ देखि १७ गतेसम्म काभ्रे फुटवलमय बन्ने भएको छ । मोफसलको झापादेखि बर्दियासम्म बार्षिक रुपमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता हुने भएपनि काभ्रेमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन सकेको थिएन । तर जिल्ला फुटवल संघ काभ्रेले जिल्लामै ठूलो धनराशीको फुटवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नु आफैमा चुनौतीपुर्ण छ । काभ्रेका युवा फुटवलप्रेमीहरको हौसलाको कारणले आगामी चैत्र ७ देखि १७ गतेसम्म काभ्रे फुटवलमय बन्ने भएको छ । राजधानी नजिकै भएर पनि काभ्रेपलाञ्चोक जिल्लामा ठूला फुटवल प्रतियोगिता आयोजना हुन सकेको छैन । त्यसो त काभ्रेको फुटवल बनेपा, धुलिखेल र पनौतीको आसपासमा मात्रै केन्द्रीत हुँदै आएको छ । तर जिल्ला फुटवल संघले काभ्रेमा पनि राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने सन्देश दिने उदेश्यले प्रथम पुरस्कार चार लाख रहेको काभ्रे गोल्डकप फुटवल प्रतियोगिता आयोजना गर्न लागेको छ । जसको दोस्रो पुरस्कार राशी २ लाख रुपैया रहेको छ ।

शनिवार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला फुटवल संघले आगामी चैत्र ७ गतेदेखि १७ गतेसम्म संचालन हुने काभ्रे गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको छ । काभ्रेको जिल्लाको फुटवलको ईतिहासमा पहिलोपटक अत्याधिक धन राशीको फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । काभ्रे गोल्डकप नामाकरण गरिएको प्रतियोगितमा ए डिभिजनका ६ सहित मोफसलका ४ टीमले सहभागिता जनाउने आयोजक जिल्ला फुटवल संघ काभ्रेले पत्रकार सम्मेलनले गर्दै आगामी चैत्र ७ देखि धुलिखेल रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

काभ्रे जिल्लामा पहिलो पटक फुटवल प्रतियोगितमा टिकटको व्यवस्थापन गरेर प्रतियोगिता आयोजना गर्न लागेको आयोजक जिल्ला फुटवल संघ काभ्रेका उपाध्यक्ष एंव प्रथम काभ्रे गोल्डकपका संयोजक निरोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, संकटा क्लब, एफीएप क्लव, जावलाखेल क्लव, फेण्डस् क्लव, प्ले फर अत्तरियाले सहभागिता जनाउने भएका छन् । त्यस्तै आयोजक जिल्ला फुटवल संघ काभ्रे, दोलखा,भक्तपुर र सिन्धुपाल्चोकले सहभागिता जनाउने छन् ।

काभ्रेमा नियमित रुपमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना उदेश्यले काभ्रे गोल्ड कप आयोजना हुन लागेको हो । प्रतियोगिताको लागि धुलिखेल, बनेपा,पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकासँगै रोशी,तेमाल,बेथानचोक गाँउपालिकाले सहयोग गरेका छन् ।

पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष विकास नारायण श्रेष्ठ,उपाध्यक्ष महेश कर्माचार्य, महासचिव किशोर वरुण, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतकाले फुटवल खेलको महत्वको बारेमा प्रकाश पारेका थिए ।

काभ्रेमा विभिन्न समयमा साना ठूला फुटवल प्रतियोगिता आयोजना हुने भएपनि प्रसार राम्रो हुन सकेका छैनन् । तर काभ्रे गोल्डकपलाई सबैको साझा र पर्वको रुपमा अघि बढाउन आवश्यक देखिन्छ । काभ्रेमा उत्पादनहरु अहिले राष्ट्रिय खेलाडी बनेका छन् । यस्ता प्रतियोगिता राम्रा खेलाडी उत्पादन गर्ने पर्वको रुपमा अघि बढाउन आवश्यक देखिन्छ । अनि मात्रै काभ्रे गोल्डकपको सार्थकता हुन्छ ।

खेलाडीलाई हौसला प्रदान गर्न पनौतीका य्ुवा व्यवसायी जंगबहादुर जंगमले जर्सी हस्तान्तरण गरेका छन् । १० दिनसम्म संचालन हुने प्रतियोगितालाई भव्य बनाउन खेलप्रेमीको सकृय सहभागिता अपेक्षा जिल्ला फुटवल संघले गरेको छ ।


तपाईको प्रतिक्रिया