उर्लाबारी – मोरङको बेलबारी नगरपालिका–१० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको सिर्जना उद्यानको आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले अवलोकन गर्नुभएको छ ।

सो उद्यानमा ढुङ्गाबाट निर्माण गरिएको विभिन्न आकृतिको पूर्वप्रधानमन्त्री देउवासहित उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, नेता डा प्रकाशशरण महत, पूर्णबहादुर खड्का, रामहरि खतिवडालगायतले अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा ढुङ्गामा विभिन्न आकृतिले सजिएको पार्क पूर्वी नेपालकै एउटा पर्यटकीय गन्तव्य बन्नसक्ने सभापति देउवाले बताउनुभयो ।

उहाँले नेपाल पर्यटन क्षेत्रको सम्भावना बोकेको देश भएकाले पनि यस्ता खाले पर्यटन क्षेत्रको विकास गरी देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यहाँ यही फागुन ४ देखि २१ गतेसम्म चलेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा नेपालसहित छ देशका मूर्तिकारले ढुङ्गामा आफ्नो कला प्रस्तुत गरेका थिए ।

उक्त कार्यशाला सञ्चालन अवधिभरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीलगायतले अवलोकन गर्नुभएको थियो ।

सो वन क्षेत्रको ३३ बिघा क्षेत्रमा उद्यान निर्माण शुरु गरिएको हो । त्यहाँ नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका ४२ जना मूर्तिकारले ५० वटा ढुङ्गाको मूर्ति निर्माण गरेका छन् । करीब रु एक करोड ८४ लाखको लागतमा पर्यटकलाई आकर्षित गर्ने हेतुले उद्यान निर्माण अभियान शुरु गरिएको हो ।


तपाईको प्रतिक्रिया